सुन्दरहरैंचा : चिसोका कारण एक महिनाकी शिशु गुमाएकी सुन्दरहरैंचा–५ की १८ वर्षीया मनीषा ऋषिदेवको घर निर्माणमा सहयोग जुटेको छ । सुन्दरहरैंचा नगरपालिकाका कार्यपालिका सदस्य भक्त राईले व्यक्तिगत रूपमा मनीषालाई घर निर्माणका लागि सहयोग गरेका हुन् ।
घरसहित परिवारको गाँसको व्यवस्था मिलाइदिने राईले बताए । मनीषाको पीडाका विषयमा पुस १० गते अन्नपूर्ण पोस्ट्मा समाचार प्रकाशन भएको थियो । ‘गाउँमा धेरै समस्या भइरहेका हुन्छन्, यस्ता कुरा सबैलाई जानकारी पनि हुँदैन’, राईले भने, ‘अन्नपूर्णको समाचार पढेर दर्दनाक स्थितिबारे थाहा भयो।’
न्यानो लुगा नपाएर परिवारका सदस्य नै गुमाउनुपरेको पीडाले आफ्नो मन छोएपछि सहयोग गर्न मन लागेको उनले सुनाए । घर निर्माणमा लाग्ने सबै खर्च आफूले बेहोर्ने घोषणा गर्दै उनले भने, ‘मैले न्यानो लुगा र खाद्यान्नको पनि व्यवस्था गरिदिन्छु ।’
मनीषाका पति रवि दिनभर ट्र्याक्टरमा मजदुरी गर्छन् । ‘मजदुरी गरेर ल्याएको पैसाले बिहान–बेलुका खान पनि पुग्दैन’, उनले भने, ‘घर बनाउने र जाडोमा न्यानो लुगा लगाउने त कल्पना पनि गर्न सकिँदैन ।’
उनको परिवार त्रिपालको छानो र वरिपरि कपडाले बारेर बनाएको टहरोमा पुसको चिसो कटाउन विवश छ । मनीषाले भनिन्, ‘घरको हालत पनि यस्तो छ । यस्तैमा छोरी जन्मिए पनि बचाउन सकिएन ।’
घर बनाउनका लागि प्रक्रिया सुरु गर्न आइतबार आयोजित कार्यक्रममा सामाजिक अगुवा कृष्ण दाहाल, सुन्दरहरैंचा–६ का वडाध्यक्ष जीवन राई, वडा सदस्य कृष्णप्रसाद चापागाईंलगायत उपस्थित थिए । यहाँ ५२ परिवार मुसहर समुदायको बसोबास छ । यस वर्ष चिसोका कारण शिशुसहित दुई जनाको मृत्यु भइसकेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार