टोकियो। प्रस्तावित नेपाल हाउस निर्माणका लागि खरिद प्रक्रियामा रहेको जग्गाबारे अध्ययन तथा अनुगमन गर्न गठित समितिले आफ्नो प्रतिवेदन गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् जापानलाई बुझाएको छ।

जापानस्थित नेपाली समुदायमा पछिल्लो समय बहसमा आएको उक्त जग्गाको वास्तविक अवस्था तथा कानुनी र प्राविधिक पक्षबारे अध्ययन गर्न एसिया प्रशान्त क्षेत्रीय संयोजक दीपक कँडेलको संयोजकत्वमा समिति गठन गरिएको थियो। समितिले अक्टोबर ३० तारिखमा प्रतिवेदन औपचारिक रूपमा हस्तान्तरण गरेको विज्ञप्तिमार्फत जानकारी दिएको हो।

समितिका अनुसार सम्बन्धित निकाय तथा सरोकारवाला पक्षहरूसँग समन्वय र परामर्श गर्नुका साथै स्थलगत अध्ययन, छानबिन तथा अनुगमनबाट प्राप्त विवरणका आधारमा प्रतिवेदन तयार गरिएको छ। समितिलाई अक्टोबर ३० भित्र अध्ययन सम्पन्न गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको थियो।

समितिले प्रतिवेदन प्राप्त भएको मितिले १० दिनभित्र त्यसलाई आम नेपाली समुदायको जानकारीका लागि सार्वजनिक गर्न परिषद्लाई आग्रह गरेको छ। नेपाल हाउस जापानवासी नेपालीहरूको साझा सपना, गौरव र दीर्घकालीन संस्थागत सम्पत्तिसँग जोडिएको विषय भएकाले प्रतिवेदनमाथि गम्भीर अध्ययन, समीक्षा तथा आवश्यक छलफल गर्नसमेत अनुरोध गरिएको छ।

संयोजक दीपक कँडेलले भने “यो विषय गहन भएकाले,थप विस्तृत अध्यायनका लागि कार्यसमितिलाई नोभेम्बर ५ तारिखसम्म समय थपका लागि आग्रह गरेका थियौ,तर कार्यसमितिबाट त्यस विषयमा कुनै औपचारिक जवाफ प्राप्त नभएपछि,हामीले ३० तारिखनै प्रतिवेदन बुझाएका छौँ।”

विज्ञप्तिमा एनआरएनए जापानको कार्यसमिति र अनुगमन समितिले संयुक्त पत्रकार सम्मेलन गरी समुदायलाई जानकारी गराउने उल्लेख छ। यद्यपि, पत्रकार सम्मेलनको मिति र स्थान खुलाइएको छैन।

समितिले नेपाल हाउस निर्माण अभियानलाई पारदर्शी, विश्वसनीय, सुरक्षित र दीर्घकालीन रूपमा सफल बनाउन अध्ययन गरिएको जनाएको छ। प्रतिवेदनमा समेटिएका तथ्य, विवरण र सुझावले संस्थालाई उचित निर्णय लिन सहयोग पुग्ने समितिको विश्वास छ।

समितिले अध्ययनका क्रममा सहयोग, समन्वय तथा आवश्यक जानकारी उपलब्ध गराउने सम्बन्धित निकाय, व्यक्ति र सरोकारवालाप्रति आभार व्यक्त गरेको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार