काठमाडौं : तराई क्षेत्रमा शीतलहर र हिमाली क्षेत्रमा हिमपातले जनजीवन कष्टकर बनेपछि सरकारले आगो ताप्न भन्दै दाउरा वितरण गर्न थालेको छ। वातावरणविद्ले धुवाँलाई वायु प्रदूषणको मुख्य कारक भनिरहँदा त्यसको विपरीत हुने गरी राज्यले आगो बाल्ने व्यवस्था गरेको हो।
वातावरण विभागले वायु प्रदूषण कम गर्न दाउरा र प्लास्टिकजन्य वस्तु जलाउन पूर्ण प्रतिबन्ध लगाए पनि तराई क्षेत्रमा शीतलहरबाट बच्न भन्दै बाँकेको डुढुवा गाउँपालिकालगायत स्थानीय तहले चोक–चोकमा आगो ताप्ने व्यवस्था मिलाएका छन्। हजरात सामुदायिक वन उपभोक्ता समितिले बाल्नका लागि दाउरा उपलब्ध गराएको छ।
चिसो बढेसँगै वायु प्रदूषणको दर पनि उच्च हुँदै गएको छ। आगो ताप्ने प्रचलनले उपत्यका र देशभरको वायुमण्डल झन् प्रदूषित बन्ने गरेको वातावरण विभागका प्रदूषण नियन्त्रण शाखा प्रमुख शंकरप्रसाद पौडेलले बताए।
प्लास्टिक र फोहोरजन्य वस्तु बाल्दा डायअक्सिन निस्कने गर्छ यो वातावरणमा लामो समय रहने र श्वासप्रश्वासमा असर पु¥याउने गर्छ। स्वास्थ्यमा नराम्रो असर गर्ने भएकाले दाउरा र प्लास्टिकजन्य पदार्थ बाल्नमा रोक लगाउनुपर्ने विज्ञहरूको सुझाव छ। विभागले दाउरा, कागज र प्लास्टिकजन्य वस्तु नबाल्न सूचना गरिसकेकाले स्थानीय तहले पनि यसलाई नियन्त्रण गर्नुपर्ने पौडेलले बताए। ‘दाउरा बालेर मात्र तातो हुने र शीतलहरबाट बचिने होइन, त्यसैले विकल्प खोज्नुपर्छ’, उनले भने।
प्रदूषण नियन्त्रण शुल्कका नाममा सरकारले २० वर्षदेखि प्रतिलिटर सवारी इन्धनबाट ५० पैसाका दरले उठाउँदै आएको रकम हालसम्म चार अर्ब जम्मा भए पनि प्रयोग हुन सकेको छैन। यो रकमलाई कार्ययोजना बनाएर प्रयोग गर्न वातावरणविद्ले सुझाव दिएका छन्।

दाउरा बालेर आगो ताप्ने प्रचलनले उपत्यका र देशभरको वायुमण्डल झन् प्रदूषित बनेको छ।
सरकारले ०५३ सालदेखि देशभर चल्ने सवारीसाधनमा खपत हुने प्रतिलिटर इन्धनमा ५० पैसाका दरले प्रदूषण नियन्त्रण शुल्क उठाउँदै आएको छ। यो रकम ४ अर्ब ४ करोड १७ लाख रुपैयाँ जम्मा भएको छ। विश्व स्वास्थ्य संगठनको ‘इन्टरभेन्सन्स फर हेल्दी इन्भायरोमेन्ट’ विभागका संयोजक डा. कार्लोस डोराले चुरोटले वार्षिक १६ हजारको ज्यान जाने गरे पनि प्रदूषित हावाले ३० हजारको ज्यान गइरहेको तथ्यांक सार्वजनिक गरेका छन्।
आगो चाँडै बल्ने भएकाले धेरैले प्लास्टिकजन्य वस्तु बाल्ने गरेको पाइएको काठमाडौं विश्वविद्यालयका वातावरण इन्जिनियर कुन्दन श्रेष्ठले बताए। जनचेतना र अनुगमन गरी न्यूनीकरणका लागि कार्यक्रम नचलाए वायु प्रदूषणको दर झन् बढ्ने उनको दाबी छ। बाहिरी देशबाट भित्रिने प्रदूषण नियन्त्रण गर्न नसके पनि स्थानीय प्रदूषणलाई कानुन बनाएर नियन्त्रण गर्न सकिने उनले बताए।
दीर्घ आयुका लागि मानिसले स्वच्छ हावा लिनुपर्छ तर वायुमण्डलको संरक्षण नगरे हामी आफैँमा खतरा बढ्ने वातावरणविद्को भनाइ छ। जाडो मौसममा धुवाँ निस्कने वस्तु जलाउँदा पीएम २.५ का कण निस्कने भएकाले वायुमण्डल चाँडै प्रदूषित हुने गरेको वातावरण विभागको तथ्यांकमा उल्लेख छ।
तापक्रम न्यूनतममा झरेसँगै प्रदूषणको मात्रा पनि पाँच गुणासम्म बढेको छ। उपत्यकामा मात्र पिएम २.५ का धुलोको मात्रा एक सय ४५ माइक्रोग्राम प्रतिमिटर क्युबसम्म पुगेको छ। सामान्य जीवनयापनमा पीएम २.५ माइक्रोनको धुलो विश्व स्वास्थ्य संगठनले २० माइक्रोग्राम प्रतिमिटर क्युबसम्म मापदण्ड तोकेको छ। अहिलेको समग्र अवस्थालाई हेर्दा उपत्यकाको वायु चौबिसै घन्टा सास फेर्नलायक नभएको वातावरणविद् र स्वास्थ्यकर्मी बताउँछन्।
काठको विकल्प रोज्नु, दाउरा बाल्दासमेत गाउँमा धुवाँरहित चुलोलगायत नयाँ प्रविधिको प्रयोग बढाउनुपर्ने वातावरण इन्जिनियर श्रेष्ठको भनाइ छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार