चितवन, ८ मंसिर । काठमाडौंका ५० वर्षीय राजेन्द्र तण्डुकार नारायणगढ–मुग्लिन सडकखण्डसँग अभ्यस्त छन् । सडकखण्डमा उनले धेरै समय पनि बिताएका छन् ।

२४ वर्षदेखि सवारीसाधन चलाउने काम गर्दै आएका उनी काठमाडौं–नारायणगढ रुटमा माइक्रो बस चलाउँछन् । १२ वर्षअघि राजेन्द्रले किनेको बा.२ ख २५६४ नम्बरको माइक्रो बस यही रुटमा चल्छ । हरेक दिन बिहान काठमाडौंबाट चितवन आउने र बेलुका फर्किने गर्छन् उनी ।

उनले सवारीसाधन चलाउन थालेयता अहिले नारायणगढ–मुग्लिन सडकखण्ड सबैभन्दा राम्रो बनेको छ । त्यसैले माइक्रो चलाउन उनलाई सजिलो पनि भएको छ । बिहीबार बिहान सबा आठ बजे काठमाडौंबाट हिँडेका उनी साढे १२ बजे नारायणगढ आइपुगेका थिए। ‘काठमाडौं–नारायणगढ चार घण्टाको बाटो हो’, उनी भन्छन, ‘बाटो बनाउन थाल्नुपहिले पाँच घण्टामा आइपुगिन्थ्यो ।’

एसियन हाइवे एएच–४२ अन्तर्गतको नारायणगढ–मुग्लिन सडकखण्डको ३३ किलोमिटर एसियाली मापदण्डअनुसार दुई लेनको बनाइएको छ । अहिले सडकको स्वरुप र सरर हुने यात्राले विगतको सास्ती बिर्साएको छ ।

सडकखण्ड विस्तारको काम हुँदा भने उनको यात्रा पाँच घण्टामा पूरा भएन । दिनमै काठमाडौं–नारायणगढको दुईतर्फी यात्रा गर्ने उनी कहिले एकतर्फी यात्रामा सीमित भए, कहिले त दुई दिन पनि लाग्यो । ‘चार घण्टाको बाटोलाई २४ घण्टाभन्दा बढी पनि लाग्यो ।

नारायणगढ–मुग्लिनमै दिन पनि बिते’, उनले भने । उनले काठमाडौंबाट नारायणगढ आइपुग्न लाग्ने समय त कतिपटक यही सडकखण्डमा बिताएका थिए । मर्मतका बेला नारायणगढ–मुग्लिन खण्ड पार गर्नमात्रै तीनचार घण्टा लाग्थ्यो । अहिले यो दूरी उनी ४०÷४५ मिनेटमा सजिलै पार गर्छन् ।

यो खण्ड २०३६ सालमा चीन सरकारको सहयोगमा निर्माण भएको हो । नेपालमा एसियाली सडकका दुईवटा नेटवर्क छन्। एएच–०१ मा पूर्व–पश्चिम राजमार्ग पर्छ । एएच–४२ नेटवर्कमा कोदारीबाट काठमाडौं, नारायणगढ हुँदै वीरगन्ज पुग्ने सडक जोडिएको छ । एसियन हाइवे एएच–४२ अन्तर्गतको नारायणगढ–मुग्लिन सडकखण्डको ३३ किलोमिटर एसियाली मापदण्डअनुसार दुई लेनको बनाउने काम गरिएको हो ।

दुई वर्षमा काम सक्ने भन्दै सन् २०१५ को अप्रिलमा विस्तारका लागि सडकलाई तीन खण्डमा विभाजन गरेर तीन फरक कम्पनीसँग सम्झौता भएको थियो । काम सुरु हुन थालेको केही दिनमै २०७२ वैशाखमा गएको भूकम्पले काम रोकियो । भूकम्प गएको केही महिनामै भएको भारतीय नाकाबन्दीले देशमा इन्धन अभाव भयो। इन्धन अभावले देशभरका सारा आयोजना ठप्प बने ।

नाकाबन्दीको छ महिनामा सडकखण्डमा भने काम भएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनाल बताउँछन् । स्थानीय प्रशासनको पहलमा आयोजनाका लागि छुट्टै इन्धनको व्यवस्था गरियो। ठोरीबाट तेल ल्याएर समेत बाटो विस्तारको केही काम भयो ।

सम्झौता अवधिको २४ महिनालाई तीन भागमा विभाजन गरी पहिलो आठ महिनामा १५ प्रतिशत र त्यसपछि बाँकी रहेको कामको ५० प्रतिशत दोस्रो आठ महिना र बाँकी काम तेस्रो आठ महिनामा सक्ने योजना बनाइएको थियो ।

१६ महिना बित्दासम्म आधा काम पनि हुन सकेन । निर्माण कार्य ढिला हुँदा ठेकेदार कम्पनीलाई करिब ८३ लाख रुपैयाँ जरिवानासमेत तिराइएको इन्जिनियर खनालले जानकारी दिए । सम्झौताको समयसीमाभन्दा करिब १५ महिना ढिलो गरी सडकखण्ड तयार भयो। ३३ किलोमिटर सडकखण्डमध्ये १४ किलोमिटर ११ मिटर फराकिलो र १९ किलोमिटर ९ मिटर फराकिलो बनाइएको छ ।

आजको नागरिक दैनिकमा समाचार छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार