नागोया/जापान। जापानको आइची प्रिफेक्चर र नागोया सहरको संयुक्त आयोजनामा हुने २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन शनिबार, सेप्टेम्बर १९ मा हुँदैछ। नागोयास्थित पालोमा मिजुहो रंगशालामा आयोजना हुने उद्घाटन समारोह जापानी समयअनुसार साँझ ६ बजे अर्थात् नेपाली समयअनुसार दिउँसो २ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

अक्टोबर ४ सम्म सञ्चालन हुने प्रतियोगितामा एसियाका ४५ देश तथा क्षेत्रका करिब ११ हजार खेलाडी सहभागी हुँदैछन्। खेलाडी तथा पदाधिकारीसहित सहभागीको संख्या करिब १७ हजार पुगेको छ। एसियाका विभिन्न देशका खेलाडीलाई एउटै मञ्चमा प्रतिस्पर्धा गराउने यो महादेशको प्रमुख बहुखेलकुद प्रतियोगिता हो।

यस संस्करणमा ४३ खेलका ४६९ पदक स्पर्धा समावेश छन्। मिक्स्ड मार्सल आर्ट्स, प्याडेल, सर्फिङ र टेकबलजस्ता नयाँ खेलले प्रतियोगिताको आकर्षण थपेका छन्। केही खेलका प्रतिस्पर्धा औपचारिक उद्घाटनअघि नै सुरु भइसकेका छन्। जापानले यसअघि सन् १९५८ मा टोकियो र सन् १९९४ मा हिरोसिमामा एसियाली खेलकुद आयोजना गरेको थियो। यसपटक जापानले ३२ वर्षपछि तेस्रोपटक प्रतियोगिता आयोजना गर्न लागेको हो।

नेपालबाट २२ खेलमा १३६ खेलाडी सहभागी हुने विवरण सार्वजनिक भएको छ। राष्ट्रिय खेलकुद परिषद्ले खेलाडी र ३२ प्रशिक्षक गरी १६८ जनाको सहभागितासम्बन्धी विवरण सार्वजनिक गरेको छ। नेपाली महिला भलिबल टोलीले भने उद्घाटनअघि नै आफ्नो प्रतिस्पर्धा सुरु गरिसकेको छ। यस पटक समूह चरणबाटै बाहिरिएको छ।

प्रतियोगिताका लागि आइची र नागोयासहित विभिन्न स्थानमा खेलस्थलको व्यवस्था गरिएको छ। आयोजकको विवरणअनुसार कुल ५४ प्रतिस्पर्धास्थल प्रयोग हुनेछन्। केही स्पर्धा टोकियोमा समेत सञ्चालन हुने भएकाले प्रतियोगिताको गतिविधि मुख्य आयोजक क्षेत्रबाहिर पनि फैलिएको छ।

यसपटक खेलाडीको बसोबास व्यवस्थामा पनि फरक अभ्यास गरिएको छ। स्थायी खेलग्राम निर्माण गर्नुको सट्टा होटल, अस्थायी आवास र क्रुज जहाज प्रयोग गरिएको छ। आयोजक तथा एसियाली ओलम्पिक परिषद्का अधिकारीहरूले प्रतियोगितापछि उपयोगविहीन हुन सक्ने संरचनामा ठूलो खर्च नगर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको बताएका छन्। यद्यपि केही खेलाडीले कोठाको आकार र सुविधाबारे गुनासो गरेका छन्।

कोरोना महामारीका कारण दर्शकको उपस्थितिबिना आयोजना गरिएको टोकियो ओलम्पिकपछि जापानमा दर्शकसहित हुन लागेको यस ठूलो बहुखेलकुद प्रतियोगितालाई विशेष चासोका साथ हेरिएको छ। प्रतियोगिता अघि बढ्दै जाँदा र घरेलु खेलाडीले राम्रो प्रदर्शन गर्दा दर्शकको उत्साह अझ बढ्ने आयोजकको अपेक्षा छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार