काठमाडौं – यातायात व्यवसायी आगामी असोज १ देखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्नेमा आश्वस्त हुन सकेका छैनन् । स्पष्ट निर्णय नभएको भन्दै व्यवसायीले सञ्चालनमा अनिच्छा देखाएका हुन् ।

कोभिड–१९ सङ्क्रमित दैनिक बढ्दै गएकाले यसै भन्न नसकिने अवस्था नरहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । यातायात व्यवस्था विभागले पनि कोरोना प्रभावको हालको अवस्था हेर्दा सञ्चालन हुनसक्छ नै भन्न नसकिने जनाएको छ ।

विभागमा महानिर्देशक गोगनबहादुर हमालले भने, “अहिले विभाग पनि पूर्ण आइसोलेसनमा छ । असोज १ बाट खुला गर्ने त भनिएको छ । कोरोनाको प्रभाव बढ्दै गयो भने त के खुल्ला र ?” तर यातायात व्यवसायीले भने सरकार गम्भीर नभएको आरोप लगाएका छन् । महासंघका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर भन्छन्, “पहिला पनि सञ्चालन गर्ने भनेर दुईपटक सम्म सरकारले भनेको हामीले गाडी मर्मत गरेर तयारी गरेकै हो तर सञ्चालन भएन ।

अहिले पनि सञ्चालन हुन्छ भन्ने के ग्यारेन्टी ? यसरी पटकपटक गाडी मर्मत गर्दै थन्काउँदै गर्नसक्ने अवस्थामा हामी छैनौँ । ”करिब छ महिना बन्द भएका लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी साधनलाई सरकारले अहिलेसम्म कुनै राहत नदिएको व्यवासायीले गुनासो गरेका छन् ।

सार्वजनिक यातायातलाई पहिला अति प्रभावित क्षेत्रमा राखिएको तर पछि मध्यम प्रभावितमा राखेर राहत तथा सुविधाबाट वञ्चित गर्न खोजिएको व्यवसायीको भनाइ छ । स्वाँरका अनुसार सरकारले मध्यम प्रभावित भनिदिएपछि बैंकले कर्जा तथा ऋणको किस्तामा कुनै सुविधा दिँदैनन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार