काठमाडौं, १ भदौं । उर्जामन्त्री महेन्द्रबहादुर शाहीले प्राधिकरण भित्र रहेको कोठा–कोठाको भान्छा तत्काल रोकन निर्देशन दिएका छन् ।
मन्त्री शाहीले विद्युत प्राधिकरणका विभिन्न शाखा र कर्मचारीहरुको कोठा–कोठामा रहेका भान्छा बन्द गर्न निर्देशन दिएका हुन् । एउटा शाखामा मात्रै क्यान्टिन हुनपर्ने र कोठा–कोठामा आफ्नो अनुकुल किचेन राख्न नपाइने उनले बताए । एउटै कार्यालयमा भएका धेरै भान्छाले ठूलो मात्रामा विद्युत खपत गर्ने खर्च पनि बढ्ने भएकाले तत्काल बन्द गर्न उनले निर्देशन दिए ।
यस्तै मन्त्री शाहीले नेपाल विद्युत प्राधिकरण काम नगर्ने कर्मचारीको लिस्ट तयार भएको बताएका छन् । उनले भाषण मात्रै गर्ने र काम नगर्ने प्रवृत्तिलाई अब अन्त्य गर्ने बताएका छन् । विद्युत प्राधिकरणको ३२ औं वाषिर्कोत्सव समारोहमा मन्त्री शर्माले ट्रेड युनियनका कर्मचारीलाई भाषणमा भन्दा काममा केन्द्रित हुन निर्देशन दिए । ट्रेड युनियनका आडमा कैयन कर्मचारी वर्षौंदेखि राजनीतिमा मात्रै केन्द्रित भएको र यसले संस्थालाई ठूलो क्षति भएको उनको भनाइ थियो । ‘कर्मचारीले काम गर्ने हो, ठूला–ठूला भाषण गरेर हिड्ने होइन’ काम गर्न निर्देशन दिँदै उनले भने । ट्रेड युनियनका पदाधिकारी काम छाडेर कर्मचारी सरुवाका लागि हिड्ने गरेको उनको आरोप छ । ‘दलालहरु कर्मचारीको सरुवा र अर्काको कुरा लिएर आउँछन्, त्यस्ता दलाललाई मेरो मन्त्रालयमा निषेध गरिएको छ,’ मन्त्री शाहीले भने । फिटिक्कै काम नगर्ने कर्मचारीको सरुवाका लागि लिस्ट तयार भएको उनले जानकारी दिए । कुन(कुन भेगमा कसलाई पठाउने भन्ने लिस्ट तयार भएको भन्दै उनले सरुवाका लागि तयार रहन कर्मचारीहरुलाई निर्देशन दिए ।
उर्जामन्त्री शाहीले विद्युत ट्रान्सर्फमर पड्कनुमा कर्मचारी नै दोषी रहेको बताए । लापरबाहीपूर्ण तरिकाले ट्रान्सर्फमर जडान गरेकै कारण पड्किने गरेको उनको दाबी छ । मन्त्री शाहीले अब ट्रान्सर्फमर पड्केको ठाउँमा के कसरी पड्कियो भनेर छानबिन हुने बताए । उनले भने, ‘अब ट्रान्सर्फमर पड्कियो भने त्यहाँको अध्ययन हुन्छ, कर्मचारीको दोषले पड्किएको पाइयो भने कार्यालय प्रमुखमाथि कारवाही हुन्छ ।’

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार