काठमाडौं, १ मंसिर । आज बाला चर्तुदशी अर्थात (मंसिर कृष्ण चतुर्दशी) पशुपतिनाथलगायत देशका विभिन्न शक्तिपीठमा शतबीज छरेर बालाचतुर्दशी मनाइँदै छ ।
पितृ उद्धारका लागि उनीहरुको सम्झनामा शतवीज छर्ने गरिन्छ । बालाचर्तुदशीको अघिल्लो दिन मार्गकृष्ण त्रयोदशीको दिन पशुपतिनाथलगायत देशका अन्य शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी चतुर्दशीको दिन शतविज रोपण गरिन्छ । यसरी बत्ती बाल्दा पितृलोक झलमल्ल हुन्छ भन्ने विश्वास रहिआएको छ । सुरुमा सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेको गणेशमन्दिर नजिक आइपुगेपछि मूर्तिलाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पुर्याउन अनुरोध गर्ने प्रचलन रहेको छ ।
शतबीज भन्नाले सयथरी बीउ भन्ने बुझिन्छ तर पनि शतबीजमा मुख्यतः धान, जौ, गहुँ, चना, तिल, कागुनु र मकैलाई मात्र लिइने गरेको पाइन्छ । यसैगरी शतबीजमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूल पनि हुने गर्छन् । शतबीजमा आफ्नो स्थानीय फलफूल पनि मिसाउने गरिन्छ । परिवारका दिवङ्गत आत्मालाई शान्ति दिलाउन १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुहृयेश्वरी, पशुपति, मृगस्थलीलगायत स्थानमा शतबीज छरिन्छ ।

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार