शहीद गेट !!

नमस्कार,म गंगालाल…!
रेलको लीकमा हाम फाली
आत्महत्या गरेर यहाँ आएको हुँ !
एक हुल समृद्धिका सपनाहरूलाई
भोग चढाउन
कोही त चाहिन्छ भन्ने हल्ला चल्यो !
नदेखे पछि तयार कसैलाई
झ्वाम्मै हाम फालें
स्वप्न-पटरीमा
स्वर्ण-पटरीमा !
पलायन मगज
फुटेका आँखा
मुर्दा सपना
अनि
काटिएका हजारौं टाउकाहरू बोकेर
मुगलान हुँइकिदै गरेको
रातो ‘बुलेट रेल’ले च्वाट्टै चुँडाल्यो मन्टो मेरो !
उछिट्टिएर छ्यापिए
राता छिर्काहरू
सेतो शिंहदरबारमा !

नमस्कार, म धर्मभक्त… !
धर्म हराउँदै गइरहेको देशमा
राजनीतिका दास र भक्तहरु
लगातार जन्मिरहेको मुलुकमा
एक देश-भक्तलाई बली नचढाई नहुने कुरो उठ्यो !
तयार नभई मलाई सुखै थिएन !
‘क्रिसमस ट्रि’ मा रंगीन डोरी लगाइयो

पिलाइयो ‘होली वाइन’ !
बनाइयो मदहोस-बेहोस !
भनियो-
‘अब चीर शान्तिको लागि आरामले लट्किनुस् !’
एक जोड़ी परेवाहरू
उडेर गइ बसे
ढलेको धरहरा छोपिएको त्रिपालमा

विष्टा गरे मेरो शीरमा !
परेवालाई पखाला लाग्ने सहरमा
म नशामै झुन्डिएँ !

नमस्कार, म दशरथ चन्द… !
दरवारमार्गमा अस्व-रथ रोकी
महाराजगंज देखि बालुवाटार सम्म
निकालियो हात्ती-सवारी !
भनियो-
‘अब हिन्द महासागरको
जल-जहाज-यात्रा सुरु हुन्छ तिरंगा लहराउँदै !
साइतमा बाटो काट्ने रथ अनि दशरथलाई
नांगो बनाउनु पर्छ बीच बजारमा !
हरेक तन्त्रहरूमा सहजै ‘लाइसेन्स’ पाउने
स्थापित ‘कंब्याटिएन’ हरूले
मार्च पास गरी
बानेश्वर देखि शिंहदरबार सम्म,
पालै पालो ठोक्नुपर्छ गणतांत्रिक गोली
सीमा,सम्पदा,भाषा र भुगोल बँचाउने
दावी गर्ने यो पागललाई ड्याम्म ड्याम्म !’
बाँधियो आँखामा पट्टी
देखाइयो कालो गणतन्त्र

छेंडियो मेरो छाती
टूँडिखेल बिचमा लगी !

नमस्कार, म शुक्रराज… !
राजनीतिको शुक्रकिट नै खराब परेको देशमा
नागरिकका सपनाहरूको
प्रत्येक रात ‘एबोर्सन’ हुन्छ !
नेपाल आमालाई सुताएर बिच चौराहमा
दिनदहाडै
पालै पालो बलात्कार गरियो
प्रजातन्त्र बाट
लोकतन्त्र बाट
अनि अन्त्यमा
गणतन्त्र बाट !
अर्को बिहान भनियो-
आमाको सफल सल्यक्रिया भयो
‘आवाज विहीनको आवाज बन्छु’ भनी
जन्मिन खोज्ने एक शास्त्रीको
निर्मम ‘एबोर्सन’ गरियो,
अब आमा हल्का भइन !

सीमा खुला
सार्वभौमिकता नांगो
स्वभिमान उदांगो
इतिहास र भुगोललाई पारेर नामेट !
लत्रेको स्वाभिमान
जलेको नागरिक मन
अनि
ढलेको धरोहर अगाडी
तत् पश्चात खड़ा गरियो
एउटा गज्जबको शहीद गेट !!

✍️हेमन्त गिरी,जापान


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार