जापानको एहिमे केनको एक कम्पनीको स्वामित्वमा रहेको विशाल पानी जहाज अन्तत: किनारा लागेको छ । सूइज नहरमा गत मङ्गलवारदेखि अड्किएको स्थानबाट उक्त पानीजहाजलाई सारिएको खबरहरु सार्वजनिक भएका छन् । सोमवार सामाजिक सञ्जालमा प्रेषित भिडिओमा ‘एभर गिभन’ नामक उक्त जहाजको पृष्ठभागलाई नहरको किनारातिर तानिएको र अवरुद्ध मार्ग खुलाइएको देखिन्छ।


पानीजहाज कम्पनी इन्चकेपले पनि उक्त पानीजहाज अड्किएको स्थानबाट हटाइएको जनाएको छ।
एभरग्रीन कम्पनीको स्वामित्वमा रहेको उक्त पानीजहाजलाई हटाएर जलमार्ग खुलाउन टगबोट र ड्रेजरहरू प्रयोग गरिएको थियो।

विश्वकै महंगो ट्राफिक जाम, त्यो पनि पानीमा

इजिप्टको स्वामित्वमा रहेको उक्त जलमार्ग १९३ किलोमिटर लामो छ। त्यसलाई संसारको एउटा अतिव्यस्त व्यापारिक मार्ग मानिन्छ।एभर गिभन पानीजहाजका कारण उक्त जलमार्ग अवरुद्ध हुँदा सूइज नहरमा संसारकै ‘सबैभन्दा महँगो ट्राफिक जाम’ भएको बताइएको थियो।अवरोधका कारण धेरै जहाजहरू अफ्रिकातिरको मार्गमा मोडिएका थिए।

धेरै दिनदेखि उक्त अवरोध हटाउन नसकिएकाले भार कम गर्ने प्रयासस्वरूप आइतवार एभर गिभनबाट २०,००० वटा कन्टेनर निकालिएको बताइन्छ।
विशेषज्ञहरूले यसअघि उक्त पानीजहाजलाई अड्किएको स्थानबाट सार्न विशेष उपकरण चाहिने र त्यसका लागि केही साता लाग्न सक्ने बताएका थिए।अचानक आएको हावाका कारण छड्के परेको ४०० मिटर लामो र ५९ मिटर चौडा उक्त जहाजले जलमार्ग बन्द गरिदिएको थियो।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार