टोकियो/जापान । जापानमा हुनुहुन्छ ? कुन कम्पनीको मोबाईल फोन सेवा प्रयोग गरिरहनुभएको छ ? दोकोमोको सेवा प्रयोग गर्नुभएको छ भने सावधान रहनुहोला ।

एनटिटि दोकोमोले हिजो( अक्टोबर २ ) मा जानकारी गराए अनुसार,दोकोमो संग सरोकार नै नभएको कुनै तेस्रो पक्षले एनटिटि दोकोमो कस्टमर सेन्टरको बहाना गरेर दोकोमो फोन सेवा प्रयोगकर्ताहरुको मोबाईल फोनमा एसएमएस पठाएर करिब १२ सय प्रयोगकर्ताहरुबाट १० करोड येनभन्दा बढी ठगी भईसकेको छ । कुनै अर्को ईन्टरनेट फिसिङ पक्षले दोकोमोको फोन सेवा प्रयोगकर्ताहरुलाई एसएमएस पठाई – तपाईको मोबाईल फोनको सेवा शुल्क भुक्तानी भएको प्रमाणित भएको छैन,भुक्तानी प्रमाणिकरण गर्नुपर्नेछ भन्ने व्यहोराको म्यासेज पठाई उपभोक्तालाई दोकोमोको पिन कोडहरु हाल्न लगाई उक्त एकाउन्टको पहुँचमा पुगी आईट्युन कार्ड तथा अन्य गिफ्ट कार्डहरु अबैधानिकरुपमा ग्राहकले थाहै नपाई किन्न लगाउने जस्ता ईन्टरनेट ठगी हुने गरेको पुष्टी भएको हो ।

जापानमा हरेक मोबाईल फोन कम्पनीको सेवा सम्झौता गर्दा ४ अंकको पासवर्ड र आवश्यकता अनुसार त्यस भन्दा बाहेकको आईडी र पासवर्ड पनि सेट गर्ने गरिन्छ । जस्तै दोकोमोको प्रयोगकर्ताहरुको सवालमा डि अकाउन्ट र एयु प्रयोगकर्ताहरुको सवालमा एयु आईडी । यि आईडी तथा पासवर्डमा पहुँच बनाउन सके प्रयोगकर्तालाई थाहै नदिई विभिन्न एप्स तथा गिफ्ट कार्डहरु सजिलै खरिद गराउन सकिन्छ ।

यसपटक ह्याकरहरुले दोकोमोका सेवाग्राहीहरुलाई उनिहरुको यस्तै अकाउन्टमा एक्सेस बनाउन सहज हुने किसिमको एसएमएस पठाएर ठगी गरेको देखिएको छ । यदि तपाई पनि दोकोमो प्रयोग गर्नुहुन्छ र त्यस्तै म्यासेजहरु आएका छन् भने तुरुन्त यो नम्बर ०१२०-६१३-३६० मा सम्पर्क गर्नुहोला ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार