टोकियो/जापान । जापान सरकारले ओमिक्रोन संक्रमण रोकथामका लागि नव प्रवेशी विदेशीहरुको प्रवेशमा लगाएको प्रतिबन्ध खुलाउने बारे वैज्ञानिक ज्ञानमा आधरित भई छलफल अघि बढाउने बिचार गरेको  मुख्य सचिब माचुनोले बताएका छन् ।

विभिन्न समाचार तथा सरकारका विभिन्न व्यक्तित्वहरुले टेलिभिजन कार्यक्रमहरुमा बताए अनुसार, जापान सरकार ओमिक्रोन भेरियन्टको रोकथामका लागि हाल कायम नवप्रवेशी विदेशीहरुको सीमा प्रतिबन्ध खुलाउने आन्तरिक तयारीमा जुटिरहेको छ ।तयारीमा जुटिरहेको तर कहिले र कसरी खुला गर्ने भन्ने बारे कतै सार्वजनिक नभएको सन्दर्भमा मुख्य सचिव माचुनोले ओमिक्रोन रोकथामका सवालमा वैज्ञानिक ज्ञानहरुको व्यापक कार्यन्वयन हुनेगरी सरोकारवाला विज्ञ तथा जिम्मेवार व्यक्तिहरुसंग छलफल गरि अघि बढ्ने बताएका हुन् ।

पछिल्ला दिन, जापानी संचार माध्यमहरुमा हरेक दिन सीमा प्रतिबन्ध हटाउने सवालमा सरकारले के गरिरहेको छ भन्ने अनौपचारिक समाचारहरु प्रकाशन हुँदै आएका छन् । जसले औपचारिकरुपमा सार्वजनिक नगरिएता पनि यथासक्य नव प्रवेशी विदेशीहरुको प्रतिबन्ध हटाउन जापानले आन्तरिकरुपमा सघन गृहकार्य गरिरहेको अनुमान गर्न सकिन्छ ।

आज बिहान भएको पत्रकार सम्मेलनमा, माचुनोले सरकारलाई कोरोना रोकथाम तथा सीमा खुलाको विषयमा विभिन्न निकायहरुबाट विभिन्न सुझाव तथा अनुरोधहरु आईरहेको र सोहि अनुरुप अन्य मुलुकहरुको अभ्यासहरु हेर्दै वैज्ञानिक ज्ञानहरुको उचित उपयोग गरि ओमिक्रोन रोकथाम तथा सीमा नियन्त्रणका सवालमा उठिरहेका आवाजहरुको सम्बोधन गर्ने आशयका अभिव्यक्ति प्रस्तुत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार