खानागावा/जापान । जापानी समुदायमा अपराधिक घटनाहरु तुलनात्मकरुपमा कमी भएता पनि कहिले कहीँ निकै अपत्यारिलो घटनाहरु घटाई करोडौँ रकम ठगी हुने गरेका छन् ।

यहि अप्रिल १६ तारिख जापानको राजधानी टोकियोसंगै जोडिएको अर्को प्रान्त खानागावाको कामकुरा नगरमा बस्ने एक ७० वर्षिय वृद्धले एक त्यस्तै अपत्यारिलो ठगीमा परि १ करोड येनभन्दा बढि गुमाएको जापानी संचार माध्यमहरुमा खबर प्रकाशित छ । समाचारका अनुसार, १६ अप्रिल मध्यान्ह १२ बजेतिर, डाक्टर बनेर फोन गरि, ति ७० वर्षिया वृद्धलाई उनको छोरा अस्पतालमा रहेको र क्यान्सरको आशंका गरिएको, तर छोराले पर्स तथा मोबाईल फोन सबै हराएकाले आफ्नो नम्बरबाट फोन गरेको बताएको र तुरुन्त अर्को ब्यक्तिलाई फोन दिएर उनको छोराको अभिनय गर्दै, डाक्टरले भनेको कुरा सहि भएको र, आफुलाई आजै कार्यरत कम्पनीको हिसाब मिलानको लागि ३ करोड २० लाख रुपैँया जरुरी भएकाले तपाईँले तत्काल कतिजति व्यवस्था गर्न सक्नुहुन्छ, त्यति भएनि गरिदिनु,म त्यो पैसा लिन अर्को साथी पठाउँछु भन्यो ।

आफ्नो छोरा बनेर फोन गर्ने व्यक्तिको कुरा पुर्णरुपमा विश्वास गरेकी वृद्धले आफुले घरमै राखेको १ करोड जापानी येन छोराको साथी भन्ने अर्को व्यक्तिलाई हातमै नगद दिएर पठाईन् । यो सबै घटना घटिसकेपछि,आफु ठगिएको शंका लागेपछि आफ्नो छोरालाई सम्पर्क गर्दा साँच्चै आफुलाई डाक्टर र छोराको अभिनय गरेर ठगेके पुष्टि भएपछि वृद्ध प्रहरीकोमा पुगेको  बताईएको छ ।

जापानमा यस्ता प्रकारका ठगीका घटनाहरु प्राय हरेक महिना कम्तिमा १/२ वटा घटिरहेका हुन्छन् । यस्ता ठगिलाई रोक्न प्रहरी तथा स्थानीय सरकारले विभिन्न सुचना तथा सचेतनाका सार्वजनिक सुचनाहरु पनि जारी गरिरहेका हुन्छन् । यद्यपी, वृद्ध उमेर, एक्लो बसाई लगायतका कारण स्मरण क्षमता क्षीण भईसकेका वृद्ध/वृद्धाहरुले आफ्ने सन्तान अप्ठ्यारोमा परेको सुनेपछि अरु सबैकुरा भुल्ने र आफ्नै छोरा हो भन्ने ठानेर ठूलो रकम गुमाउने गरिरहेका छन् ।

यसरी ठगिएको घटनाहरु सार्वजनिक हुनेगरेतापनि रकम ठगी गर्ने व्यक्तिहरु पक्राउ परेर रकम फिर्ता भएको खबरहरु भने विरलै देखिन्छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार