नेपालबाट विदेशिने प्राय सबै नेपालीहरुको अन्तिम उद्देश्य भनेकै आफु र आफ्नो घरपरिवारको लागि केही मात्रामा भए पनि जिवन स्तर उकास्न सकिन्छ कि भनेर नै विदेश तिर लागेका हुन्छौं।सबैको अन्तिम उद्देश्य भनेको पैसा कमाउने नै हो, यो कुरामा २ मत चाहि नहोला ।तर विद्यार्थी भिषामा जापान छिर्ने बित्तिकै आफ्नो पढाईलाई भन्दा पनि, कसरी सकिन्छ आफ्ना वरपरका साथीहरु भन्दा १,२ मान भए पनि बढी कमाएर देखाउने होडबाजीको हाबी भएको हो कि भन्ने भान हुन्छ । जसको असर जापान बसाईको क्रममा, बिस्तारै विभिन्न क्षेत्रमा क्रमिक रुपमा देखा पर्दै जान्छन् । जस्तो कि, भाषा कमजोरीको कारण आफैमा आत्मविश्वास नहुनाले ब्रोकरहरुलाई पैसा तिरेरै भए पनि काम खोज्ने, ब्रोकरहरुले पैसा खाएर काम-भिषा केहि नमिलाई दिने, काम पाइहाले भने पनि कम्पनी छोड्नु पर्ने, हातमा ५ वर्षको भिषा बोकेर अन्यत्र कामको खोजीमा भौँतारिनु पर्ने, स्कुल कलेज सकाएर पनि विभिन्न समस्याहरुले गर्दा जापान छाडेर नेपाल फर्किनु पर्ने आदि इत्यादी ।

हामी विदेश पढ्नलाई होइन, काम गरेर २, ४ पैसा कमाउनको लागि नै आएका हौँ र म पनि त्यस मध्य कै एकजना हुँ । धेरै-थोरै ऋणको भारी बोकेर, आफ्नो अनि परिवारको भविष्य सहज होस् भनेर नै बिरानो मुलुकमा हामी आइपुगेका छौं । तर जापान आइसके पछि धेरैजनाको प्रतिक्रिया भनेको “नेपालमा त्यत्रो ऋण गरेर आको, धनीले पो ऋण तिर्न पर्दैन र त पढाईलाई फोकस गर्न सक्छ, हामी त ऋणको भारी बोकेर आ’का छौं, भोलि जे होला होला, मज्जाले काम गर्ने हो । यो जापानमा पढेर नेपाल फर्केसी काम लाग्ने होइन क्यारे !” यहि सोचले गर्दा नै स्कूल कलेज सकेपछि काम खोज्न र जापान बसाइको क्रममा विभिन्न समस्याहरु आइपर्ने गरेका धेरै उदाहरणहरु छन् । र त्यसको फाइदा विभिन्न ब्रोकर कम्पनीहरुले लिने गर्छन । कतिपय त ठगिमा पर्यो भन्ने समाचारहरु नि असरल्लै देखेका र सुनेका पनि धेरै उदाहरणहरु छन् र त्यो गलत प्रवृत्तिको जड र त्यसलाई मौलाउन मदत गर्ने पनि हामी मध्य कै कोहि हुन् ।

मैले यहाँ निर खाली पढाई तिर मात्र जोड दिएर कामै नगर्ने भन्न खोजेको पक्कै पनि हुदैं होइन । काम सँग-सँगै आत्मविश्वास र मनोबल पनि दरिलो बनाउनको लागि, र आफ्नो व्यक्तिगत विकास र सुधारको लागि, समयमा नै ध्यान दिएर स्कुल कलेज पनि राम्रो सँग पढ्नु जरुरी छ भन्न खोजेको मात्र हुँ है । तर, नामको मात्र स्कुल-कलेजमा हाजिर भएर चाहि कहिले पनि उभो लाग्नेवाला छैन । समय अनुसार आफुलाई अपडेट गर्दै, सकभर वरपरबाट आफुलाई उचित लाग्ने र उपयोगी सूचना तथा जानकारीहरु संकलन गर्दै, नबुझेका र नजानेका कुराहरु आफू भन्दा सिनियर वा जान्नेहरुसँग सोधपुछ गरेर अगाडी बढ्नु पर्छ । कतिपय कुराहरु अहिलेको इन्टरनेटको यो जमानामा आफैले पनि केहि दुख गरेरै भए पनि समय निकालेर, खोज र अध्ययन पनि गर्नु जरुरी छ । यसो गर्दा हामीलाई कसैको शरण र भर पनि पर्नु पर्ने छैन र भविष्यमा कसैबाट पनि ठगिनु पर्ने छैन ।

निचोडमा भन्नु पर्दा, जापान छिरेर “तातै खाउँ, जलेरै मरुँ” भन्ने सोचलाई केहि वर्ष थाँती राखेर, शुरुवाती ५,६ वर्ष पैसा कमाउने तिर भन्दा पनि, कसरी आफूलाई अब्बल र सक्षम बनाउन सकिन्छ भन्ने तिर अलि जोड दिउँ | जसको लागि महत्वपूर्ण कुरा भनेको जापानीज भाषामा दख्खल हुनु जरुरी हुन्छ र त्यसको लागि अलिकति दुख, मिहेनेत र धैर्यताको चै खाँचो पर्छ ।

तर यहाँ निर ५,६ वर्षसम्म पढाईलाई मात्र जोड दिएर आफू आउँदाको ऋण कसले कसरी तिरिदिन्छ त भन्ने प्रश्नहरु उठ्नुलाई म स्वाभाविक नै ठान्दछु । किन कि ऋणको चाप भन्दा पनि नेपालमा घरपरिवारबाट छोरा छोरी जापानमा छन् भन्ने बित्तिकै अनेकन अपेक्षाहरु बढेर जान्छन् र मागहरु पनि बढ्ने गर्दछन् । तर हामी आफ्ना घरपरिवार र आफन्तलाई यहाँको आफ्नो दुखको सत्य कुरा भन्न सक्दैनौं, भन्नलाई अप्ठ्यारो मान्छौं या लुकाउछौँ । फलस्वरूप घरपरिवार र आफन्तहरुले हाम्रो दुखको सत्य कुरा थाहा नहुनाले अलि दिन महिनासम्म पैसा पठाएनौ भने फलानाको छोराछोरीले त महिनै पिच्छे यति रकम पठाउँछन्, फलानो ठाउँमा यति घर जग्गा किन्यो रे, तिमी चै अझै आफू जाँदाको ऋण तिर्नलाई धौ-धौ पर्दैछौ; होइन तिमीले के गरेछौ के ?? भन्ने जस्ता अनेकन प्रेसरहरु आउने गर्दछन् र हाम्रो दिमाग पनि पैसामा भन्दा अरु सोच्न नसकिने हुदैं जान्छ । यसको परिणाम, हामी पढाईमा भन्दा पैसाको लागि काम तिर बढी ध्यान पुग्छौँ । यहाँ निर मैले भन्न र जोड्न चाहेको कुरा, विदेशमा आफू जुन परिस्थितिमा गुज्रिरहेका छौं, ती सबै सत्य कुराहरु आफ्ना घरपरिवारलाई बुझाउने कोशिश गरौँ । शुरुका केहि वर्षसम्म घरपरिवारले पनि पैसा पैसा भनेर धेरै प्रेसर दिनु हुदैन । घरपरिवारबाट प्रेसर छैन भन्दैमा हामी फेरि मात्तिनु नि हुदैन । यो ५,६ वर्षलाई सहि सदुपयोग गर्न सकियो भने जापानमा तपाई हामीलाई धेरै राम्रा राम्रा अवसरहरुले पर्खिरहेका छन् । र यो अवधिमा हामीले पढाईसँगसँगै धेरै थोरै पक्कै पनि कमाएका हुन्छौँ ।अनि हामी आफै सक्षम भएपछि त कमाउने पालो आफ्नै हो र ढुक्क भएर मज्जाले कमाऊला नि, कि कसो ???

अन्तमा, आफु हिंडडुल गर्ने बाटो आफैले राम्रोसँग बनाएर राख्यो भने, पछि त्यो बाटो आवात-जावत गर्दा सजिलो हुने आफैलाई नै हो । पछि सजिलो बाटो हिड्ने कि असजिलो बाटो हिड्ने, त्यो सबैको लागि तपाई-हामी आफैं नै जिम्मेवार छौं र हुनु जरुरी पनि छ । तर दोष चै सधैँ एकार्का माथि थुपार्दै, आफ्नो कमजोरी के हो र के थियो भन्ने तिर नसोच्ने हो भने, भविष्यमा ठगीएर दुख पाएका समाचारहरु र रोइ-कराईको रोइलो, सामाजिक संजालका भित्ता भरि सधैँ-सधैँ छाईरहने छन् र त्यसको जड स्वयं हामी आफैं नै भइरहने छौँ | तसर्थ, काम पनि गरौँ, पढाईलाई पनि ध्यान दिएर अगाडी बढौं | जापानमा आफु सक्षम भयो भने कैयौं राम्रा राम्रा अवसरहरुले तपाई-हामीलाई कुरिरहेका छन् ।

नोट : यो मेरो नितान्ता जापान बसाईंको क्रममा आफुले भोगेका व्यक्तिगत अनुभवहरुलाई समेटेर लेखिएको सुझाव मात्र हो । अन्यथा नसोचीदिनु होला🙏 जो जसले जति सकिन्छ, एकापसमा आफ्नो तर्फबाट सक्ने सर-सहयोग गरौँ, सबैको जय होस् 🙏)
(बिरेन गुरुङ)
नागोया, जापान
( यो जापानमा आउने हरकोही विद्यार्थीहरुले मनन् गर्नुपर्ने सत्य हो, समय सान्दर्भिक लागेकाले बिरेन गुरुङ्को  संजालबाट लिएर प्रकाशन गरिएको हो )


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार