जापानमा आफ्नो अध्ययन समाप्ति सङ्गै एउटा राम्रो कम्पनीमा प्रवेश गर्न सकियो भने जापान प्रवेश गर्नु अगाडी देखेको कैयौँ सपनाहरु मध्ये केहि सपना पुरा भएको होकि भन्ने महसुस गर्न सकिन्छ। पछिल्लो समय बढ्दो विदेशी विद्यार्थीहरुको संख्या सँङ्गै कोभिड प्रभावको कारणले गर्दा कम्पनी प्रवेश गर्नु पनि चुनौतीपुर्ण रहेको छ। आफ्नो अध्ययन र भाषाको दक्षताअनुसार केहि सहज भएतापनि कहिलेकहीँ कम्पनी पाउन मुस्किल पर्न सक्दछ।त्यसैले यस किसिमको झन्झटबाट मुक्त हुन केहि रकम तिरेरै भएपनि हाकेन कम्पनी धाउने विद्यार्थीहरुको संख्या निकै नै रहेको देखिन्छ। पछिल्लो समय हाकेन कम्पनी मार्फत कम्पनी प्रवेश गरेका धेरै व्यक्तिहरुबाट विभिन्न गुनासोहरु पनि आइरहेको सुनिन्छ त्यसैले हाकेन कम्पनी मार्फत कम्पनि खोज्दा वा प्रवेश गर्दा धेरै कुराहरुमा ध्यान दिन जरुरी रहेको हुन्छ।

हाकेन कम्पनि( 派遣会社)बारे संक्षित जानकारी

विशेषगरी कर्मचारी र सम्बन्धित कम्पनीको विचमा रहेर मध्यस्थकर्ताको भुमिका निर्वाह गर्ने एजेन्सी वा संस्थालाई नै हाकेन कम्पनी भनिन्छ। मानव संसाधन लाई उच्चतम प्रयोगमा ल्याउन आफ्नो तर्फबाट केहि जिम्मेवारी निभाउदैँ आर्थिक लाभ कमाउने उद्देश्यले यस्ता कम्पनीहरु स्थापना भएका हुन्छन। पछिल्लो समय जापानमा पनि part time job तथा Full Time job को लागि कम्पनी खोजिदिने धेरै हाकेन कम्पनीहरु रहेका छन ।

निरन्तर रुपमा कर्मचारी र सम्बन्धित कम्पनीको विचमा रहेर मध्यस्थकर्ताको भुमिका

यस किसिमको हाकेन कम्पनीबाट काम गर्दा सोहि हाकेन कम्पनीको नै कर्मचारी भएर अन्य कम्पनीमा काम गर्न जानुपर्ने हुन्छ। सम्बन्धित कम्पनी सङ्ग केहि वर्षको लागि सम्झौता गरेर कर्मचारीलाई कामको लागि पठाउने गर्दछन साथै सुरुमा भिसा अप्लाई गर्दा हाकेन कम्पनी र सम्बन्धित कम्पनीको डकुमेन्ट आवश्यक पर्दछ। नयाँ र साना हाकेन कम्पनीहरुबाट भिसा आउने सम्भावना न्युन रहेको हुन्छ। विशेषगरी यस किसिमका हाकेन कम्पनीहरुबाट काम गर्दा तलब हाकेन कम्पनीले नै दिने गर्दछन र कुनै हाकेन कम्पनीले प्रतिघण्टाको आधारमा तलब दिने गर्दछ्न भने कुनैले Monthly Fix तलबको आधारमा दिने गर्दछन। तर धेरै हाकेन कम्पनीहरुले सम्बन्धित कम्पनीबाट बोनस पाएपनि कर्मचारी लाई एकदमै थोरै दिने गर्दछ्न भने कुनै कुनै हाकेन कम्पनीहरुले बोनस नै दिदैनन। हाकेन कम्पनीबाट सम्बन्धित कम्पनीमा सेसाईन भएर काम गर्न जादा धेरै कुराहरुको सेवा सुविधाहरु, पदोन्नति लगायत अन्य अवसरहरुबाट बन्चित हुनुपर्ने अवस्था पनि रहेको हुनसक्छ।

जिनजाई हाकेन कम्पनी (人材派遣会社)

विशेषगरी यस्ता कम्पनीहरुले कम्पनीमा काम गर्न चाहाने विद्यार्थीहरु तथा अन्य ब्यक्तिहरुलाई प्रवेश गराउनको लागि आवश्यक कुराहरु रिरेकिस्यो fulfill (curriculum vitae), अन्तरवार्ताको तयारी लगायत विभिन्न कुराहरुको लागि सहयोग गरी पुलको रुपमा काम गरिरहेको हुन्छन। केहि जिनजाई हाकेन कम्पनीले निशुल्क रुपमा सहयोग गर्दछन भने केहि कम्पनीहरुले निश्चित शुल्क लिएर काम गर्दछन।

नि:शुल्क रुपमा सेवारत जिनजाई हाकेन स्योउखाई कम्पनी
केहि जिनजाई हाकेन कम्पनीले निशुल्क रुपमा सम्बन्धित कम्पनी सङ्ग सहकार्य गरी काम गर्न चाहाने व्यक्तिहरुलाई अन्तरवार्ता सम्म पुर्याउने काम गर्दछन। अन्तरवार्ता पास गरिसकेपछि बाकी भिसा अप्लाईको लागि आवश्यक कागजात तयार गरि सम्बन्धित कम्पनीको माध्यमबाट न्युउखानमा (immigration)भिसा अप्लाई गर्न सहयोग गर्दछन र कुनै-कुनै कम्पनीहरुले वकिल चार्ज मात्रै लिने पनि गर्दछन ।

शुल्क लिएर सेवारत जिनजाई हाकेन स्योउखाई कम्पनी

विशेषगरी आजभोलि जापानका धेरै जिनजाई हाकेन कम्पनीहरुमा १/२ जना विदेशि कर्मचारी राखेर सन्चालनमा ल्याएका छन। जसले कामको लागि कम्पनी खोज्न सुरुमा ८/१० मान लिएर काम गर्छन र पछि अन्तर्वार्ता पास गरिसकेपछि थप ८/१० मान लिने गर्दछन र भिसा आइसकेपछि झण्डै ३० मान भन्दा माथि लिने गरेको पाइन्छ। यस्ता किसिमका कम्पनीहरुले विशेषगरी होटेल, रेस्टुरेन्ट र सामान उत्पादन फ्याक्ट्रीहरुमा काम लगाईदिने गर्दछन । यस्ता हाकेनहरुमा पैसा बुझाउनु भन्दा पहिले कम्पनी , स्थान, तलव तथा विदाको बारेमा राम्रोसङ्ग बुझ्नुपर्द्छ। प्राय हाकेन कम्पनीहरुले सुरुमा २/३ ओटा कम्पनीमा अन्तर्वार्ताको लागि लिएर जाने त्यसपछि वेवास्ता गर्ने पनि गर्दछन त्यसैले आफु अलिक चनाखो भएर अघि बढ्न जरुरी पर्दछ। केहि हाकेन कम्पनीले सुरुमा चिल्ला र मिठा कुरा गर्ने अनि पैसा लिईसकेपछि सोचेभन्दा एकदमै भित्री क्षेत्रमा रहेका कम्पनीहरुमा स्योउखाई गर्दिने तलब पनि एकदमै थोरै हुने जस्ता विभिन्न समस्याहरु पनि हुने गर्दछन ।कुनै कारणबस कम्पनीको कारणले भिसा आएन भने फेरि कम्पनी खोज्न सहयोग गर्दछन तर केहि शुल्क लिने पनि गर्दछन।
केहि जिनजाई हाकेन कम्पनीहरुले तेन्स्योकु को लागि मात्र पनि काम गर्ने गर्दछन यिनिहरुले पनि ८/१० मान लिने गर्दछन भने कुनैले निश्चित अवधिको लागि तलवबाट नै पैसा लिने गर्द्छन।

हाकेन (派遣会社)कम्पनीहरुका केहि सकारात्मक तथा नकारात्मक पक्षहरु

विशेषगरी हाकेन कम्पनीहरु पनि विभिन्न प्रकारका भएको हुनाले तिनिहरुको अवस्था हेरीकन राम्रा र नराम्रा पक्षहरु रहेका हुन्छन्।पछिल्लो समय केहि हाकेन कम्पनिहरुका लापरवाहीले गर्दा न्युउखानको(immigration)अगाडि विश्वास गुमाउदै गएको देखिन्छ त्यसैले सहजै भिसा प्राप्त गर्न मुस्किल पर्ने देखिन्छ तर राम्रो कम्पनि छ भने कुनै समस्या नआउन पनि सक्छ। कुनै पनि हाकेन कम्पनीबाट अन्य कम्पनीमा काम गर्न जादाँ कुनै कारणबस हाकेन कम्पनी बन्द भयो भने कामगरिरहेको कम्पनीले कामबाट निकाल्ने सम्भावना हुन्छ भने कुनै कुनै कम्पनीले सोहि कम्पनीमै राख्न पनि सक्द्छ। अन्य कम्पनीबाट भिसा अप्लाई गर्दा कुनै कारणबस भिसा आएन र भएको भिसाको मिती पनि सकिदैँ जान लागेको छ भने यस्तो अवस्थामा हाकेन कम्पनीबाट छिटो छरितो तरिकाले कम्पनी खोज्न सहज हुन्छ। भाषाको कमिले गर्दा कम्पनी पाउन नसकेकाहरुलाई पनि हाकेन कम्पनीबाट सहयोग प्राप्त हुन्छ। सुरुमा हाकेन कम्पनीबाट भिसा लिएर अन्य ठाउँमा तेन्स्योकु गर्नको लागि पनि कसै कसैले सुरुमा हाकेन कम्पनीकोको सहायता लिने गर्दछन।

माथि लेखिएका कुराहरुलाई राम्रोसँङ्ग मनन गरि २०२३ को ३ गाचु( मार्च)मा दाईगाकु तथा सेनमोन गाक्कोउ सोचुग्योउ हुने विद्यार्थी भाईबहिनीहरुले अहिले बाट नै समय मिलाएर विभिन्न कम्पनीहरुले राखेका सेमिनारहरुमा सहभागी हुनुपर्दछ। साथै अन्तर्वार्ताको निम्ति रिरेकिस्यो अति नै महत्त्पुर्ण हुने भएकोले आफ्नो अध्ययनको क्षेत्र र विभिन्न काम तथा विधामा भएको अनुभवहरु लाई समेटेर तयार पार्नुपर्दछ।कतिपय गाक्कोउहरुमा सेमिनार कक्षा सन्चालन हुनुका साथै अन्तर्वार्ता पनि हुने गर्दछ ।

त्यसैले यसबारेमा राम्रोसँङ्ग बुझ्न पनि जरुरी रहेको हुन्छ। कम्पनीहरु बारे जानाकारी तथा सेचुमेईखाई र मेनसेचुहरु सम्बन्धि जानकारी लिनको लागि हेल्लोवोर्कमा पनि सम्पर्क गर्न सकिन्छ, हेल्लो वोर्क (ハローワーク)जापानको विभिन्न शहरमा रहेको छ त्यसैले अहिलेबाट नै मिहिनेत गर्दै अघि बढियो भने समयमा नै नाइते लिएर बस्न सकिन्छ होइन भने ३५/४० मान तिरेर हाकेन कम्पनी खोज्नुपर्ने बाध्यता हुन सक्छ त्यसैले कुन बाटो रोज्ने भन्ने कुरा बेलैमा सोचेर अघि बढौँ।
मोहन कुवर
सत्यवती -२, चेहेमी गुल्मी,हाल ओसाका जापान
( लेखक, जापानमा आफ्नो अध्ययन सक्काए पश्चात हाल कम्पनीमा कार्यरत छन् )


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार