टोकियो/जापान। जापानभर ट्याक्सी चालकको सङ्ख्या चार वर्षअघिको तुलनामा झन्डै २० प्रतिशतले घटेको छ।

जापानमा भाइरसको प्रकोप तथा ट्याक्सी चालाउने पेशामा संलग्नहरुको बढ्दो उमेरका कारण जागिर छोड्नेहरु बढेसंगै अहिले जापानभरका ट्याक्सी सेवा प्रदायक कम्पनीहरुमा चालक अभाव हुने अवस्था देखिएको छ।

राष्ट्रिय हायर ट्याक्सी महासंघले गरेको सर्वेक्षण अनुसार जापानभरका ५,००० भन्दा बढी कम्पनीहरुमा ट्याक्सी चालकहरु घटेका छन्।यसअनुसार गत मार्च मसान्तसम्म देशभर ट्याक्सी कम्पनीमा कार्यरत चालकको संख्या २ लाख ३१ हजार ९३८ थियो । यो सन २०१९ को अन्त्यको तुलनामा २०.४ प्रतिशतले कमी भएको छ ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार गत वर्षको तुलनामा ट्याक्सी कम्पनीमा काम गर्ने चालकको औसत उमेर ५८.३ वर्ष रहेको छ।

कोरोना महामारीसंगै यात्रुहरूको संख्यामा उल्लेखनीय गिरावट आएको कारणले आयमा कमी आउनुका साथै चालकहरूले आफ्नो जागिर छाड्ने धेरै घटनाहरू भएकाले यो गिरावट विगत चार वर्षमा झनै बढेको मानिन्छ। यहि अनुपातमा गिरावट कायम रहे जापानमा अबको केहि वर्षपछि ट्याक्सी कम्पनीहरुमा कामदारहरुको चरम अभाव सिर्जना हुनेछ।

पहिलेदेखि काम गर्दै आएकाहरु दिनप्रतिदिन बुढ्यौलीका कारण रिटायर्ड हुने तथा नयाँ पुस्तामा यस पेशाप्रति रुची नहुनु जस्ता कारणले ट्याक्सी चालकहरु हरेक वर्ष घट्दै गएका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार