University of Tokyo building.

टोकियो/जापान। जापानको टोकियो विश्वविद्यालयले ५० प्रतिशत विदेशी विद्यार्थीहरु रहनेगरि,सन २०२७ मा स्नातक तथा स्नातकोत्तरको लागि नयाँ ५ वर्षे संयुक्त डिग्री कार्यक्रम संचालन गर्ने योजना सार्वजनिक गरेको छ।

सोमबार, विश्वविद्यालय स्रोतले बताए अनुसार यस कार्यक्रममा पहिलो चरणमा करिब १०० जना विद्यार्थीहरु लिइने छ,जसमा ५० प्रतिशत विदेशी विद्यार्थीहरु रहनेछन् ।

टोकियो विश्वविद्यालयले संचालन गर्ने,उक्त इन्टरडिसिप्लिनरी कलेज अफ डिजाईन कार्यक्रम, चार वर्षको स्नातक र एक वर्षको स्नातकोत्तर डिग्री संयोजन गरि बनाइने छ। जसले जलवायु परिवर्तन जस्ता विश्वव्यापी समस्याहरू समाधान गर्न आवश्यक प्रयासहरूको नेतृत्व गर्ने क्षमतावान जनशक्तिहरु निर्माणमा सकारात्मक भूमिका खेल्ने लक्ष राखिएको छ।

स्रोतका अनुसार, नयाँ परिकल्पना गरिएको कार्यक्रममा भर्ना हुँदा, विद्यार्थीहरूले विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा पहिले नै प्रस्तावित पाठ्यक्रमहरू अनुसार, साहित्य तथा चिकित्सा जस्ता क्षेत्रहरू समेत चयन गर्न सक्नेछन् ।

नयाँ शैक्षिक कार्यक्रममा, सहभागी हुन विश्वविद्यालय भित्रका अन्य संकायहरूमा भर्ना भएका विद्यार्थीहरूका लागि पनि खुला हुने बताईएको छ। यस नयाँ कार्यक्रममा पाँच वर्ष भित्र, विद्यार्थीहरूले विश्वविद्यालय बाहिरका कम्पनी इन्टर्नशिप वा विदेश अध्ययनको एक वर्षको अनुभव लिन आवश्यक हुनेछ ।

यो शैक्षिक कार्यक्रममा शरद ऋतुमा सुरु हुनेछ भने कक्षाहरू अङ्ग्रेजी भाषामा रहनेछन् । विश्वविद्यालयले यस कार्यक्रममा विभिन्न पृष्ठभूमिका मानिसहरूलाई स्वीकार गर्नका लागि ,परम्परागत परीक्षा प्रक्रियाबाट नभइ फरक तरिकाले भर्ना लिइने बताएको छ।

टोकियो विश्वविद्यालयले सन् २०४९ सम्ममा स्नातक तहमा विदेशी विद्यार्थीको अनुपात ३० प्रतिशत वा सोभन्दा बढी र स्नातकोत्तर तहमा ४० प्रतिशत वा सोभन्दा बढीमा पुर्याउने लक्ष्यका साथ यो नयाँ संयुक्त ५ वर्षे कार्यक्रम ल्याउने योजना बनाएको हो।

टोकियो विश्वविद्यालयको आफ्नै कोषको लगानीबाट आर्जन गरेको नाफा प्रयोग गरी कार्यक्रमको पाठ्यक्रम सिकाउन विदेशी विश्वविद्यालय र निजी कम्पनीका अनुसन्धानकर्ताहरूलाई आमन्त्रित गर्ने लक्ष्य रहेको पनि स्रोतले जनाएको छ।

टोकियो विश्वविद्यालयले सन २०२५ को मार्चसम्ममा यस नयाँ संयुक्त ५ वर्षे कार्यक्रमको घोषणा गर्ने तयारी गरेको स्रोतले बताएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार