टोकियो/जापान। जापानको पूर्वी समुन्द्रबाट अघि बढ्दै गरेको ताईफु ५ उत्तर तर्फ सर्ने क्रम जारी रहेको र १२ तारिख हावाहुरी सहित तोहोकु क्षेत्र नजिकका भुभागहरुमा पुग्ने जोखिम रहेको बताईएको छ।

मुख्यतया तोहोकुको प्यासिफिक किनारमा भारी वर्षा तथा तीब्र हावाहुरीको जोखिम आँकलन गरिएको छ। जापान मौसम विज्ञान एजेन्सीले पहिरो, होँचो भुभागहरुमा डुबान तथा बाढीको सम्भावना रहेको भन्दै सावधान रहन आग्रह गरेको छ।

उत्तरी जापानमा १२ देखि १३ तारिखसम्म मेघगर्जनसहित भारी वर्षा हुने सम्भावना छ। विशेष गरी, इवाते, मियागी र आओमोरी प्रिफेक्चरहरुमा ११ तारिखदेखि १२ तारिखको बिहानसम्म अत्यन्तै धेरै वर्षा हुने पूर्वानुमान गरिएको छ। जसले प्राकृतिक विपत्तीहरु निम्त्याउन सक्नेछ।

तोहोकु क्षेत्रका धेरै ठाउँमा १२ तारिख दिउँसोसम्मको २४ घण्टामा ३ सय मिलिमिटर र १३ तारिख दिउँसोसम्मको २४ घण्टामा २०० मिलिमिटर वर्षा हुने अनुमान गरिएको छ । त्यसपछि पनि वर्षा जारी रहनेछ भने १४ तारिख दिउँसोसम्मको २४ घण्टामा धेरै ठाउँमा थप १०० मिलिमिटर वर्षा हुने अनुमान गरिएको छ । मौसमी खबरहरु हेर्दै सुरक्षित रहनुहोला ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार