टोकियो/जापान। जापानमा नयाँ वर्ष (お正月- ओस्योउगाचु) सबैभन्दा ठूलो र महत्त्वपूर्ण पर्वमध्ये एक हो। यो समय परिवार, साथीभाइ र परम्परागत रीतिरिवाजका साथ मनाइन्छ। नयाँ वर्षको स्वागत गर्ने जापानी शैलीले देशको सांस्कृतिक विविधता र परम्परागत मूल्यहरू झल्काउँदछ।

नयाँ वर्षअघिको तयारी
नयाँ वर्षअघि, जापानीहरूले घर सफा (大掃除- ओसोउजी) गर्ने चलन छ, जसले नयाँ वर्षलाई शुद्ध र सकारात्मक ऊर्जा सहित स्वागत गर्ने विश्वास गरिन्छ। कार्यालयहरूमा काम बन्द गरी कर्मचारीहरूलाई घरपरिवारसँग समय बिताउन छुट्टी दिइन्छ।

नयाँ वर्षको पूर्वसंध्यामा सरसफाई गरिँदै

नयाँ वर्षको दिन के-के गरिन्छ?
जिन्जा र मन्दिर भ्रमण (初詣, हात्सुमोद्):नयाँ वर्षको पहिलो दिन मानिसहरू नजिकका बुद्दिष्ट मन्दिर तथा शिन्तो मन्दिरहरुमा प्रार्थना गर्न जान्छन्। सो अवसरमा उनीहरूले सुख, स्वास्थ्य, र समृद्धिको कामना गर्छन्।

नयाँ वर्षको दिन मन्दिरमा दर्शन गर्नेहरुको भिड

ओसेची र्योरी (おせち料理)
जापानीहरु नयाँ वर्षको दिन ओसेची नामको परिकार खाने गर्दछन् ।यो नयाँ वर्षको विशेष परिकार हो। जसमा चावलको केक (मोची ), माछा, र तरकारीका परिकारहरु मुख्य आकर्षणका रुपमा रहन्छन् ।

नयाँ वर्षको विशेष परिकार

तोशिकोशी सोबा (年越しそば)
नयाँ वर्षको पूर्वसन्ध्यामा लामो सोबा(そば) खाने परम्परा छ, जसलाई दीर्घ जीवन र धैर्यताको प्रतीकको रुपमा लिने गरिन्छ।

तोसीकोसी सोबाको तस्बिर

खागामी मोची(鏡餅)
जापानमा नयाँ वर्षमा खागामी मोची भनिने विशेष गरी नयाँ वर्षका लागि तयार पारिएको चामलको केक खाइने चलन छ। यो दुईवटा गोलाकार चामलको केक (मोची) हो।  जसको माथि सुन्तला प्रजातीको फल  राखिएको हुन्छ।यसको संरचनाले चन्द्र र सूर्यलाई प्रतिनिधित्व गर्छ भने गोल आकारले निरन्तरता र एकता जनाउँछ।यसलाई नयाँ वर्षको समयसम्म सजावटका रूपमा राखिन्छ र त्यसपछि खाइन्छ।

खागामी मोची

कादोमाचु(門松)
जापानमा नयाँ वर्षको अवसरमा घर तथा कार्यलयको प्रवेशद्वारमा  बाँस,सल्लाका रुखका हाँगा, र  पराल/बाबियो जस्ता चिजहरुबाट बनेको सजावटहरू राखिन्छ जसलाई कादोमाचु(門松)भनिन्छ । यो नयाँ वर्षको विशेष सजावट हो।यो घरको दैलामा राखिन्छ र यसले शिन्तो देवताहरूलाई घरमा स्वागत गर्ने विश्वास गरिन्छ।

कादोमाचु(門松)

紅白歌合戦 कोहाकु उता गास्सेन
जापानी नयाँ वर्षको अघिल्लो रातमा प्रसारित हुने यो संगीत कार्यक्रम विशेष रूपमा लोकप्रिय मानिन्छ ।

नयाँ वर्षको कार्ड (年賀状, नेन्गाजो)
जापानमा अझै पनि परिवार र साथीभाइलाई शुभकामना कार्ड पठाउने परम्परा छ। विगतका तुलनामा केहि कमी भएता पनि अझै नयाँ वर्षको पूर्व संघारमा यहाँ पोस्ट अफिसहरु अत्यन्तै व्यस्त रहने गर्दछन् ।

नेन्गाज्यो को नमुना

दक्षिणाको संस्कार (お年ओतोशिदामा)
बच्चाहरूलाई नयाँ वर्षमा बुवाआमाले पैसा दिने परम्परा चलनमा छ। त्यसो त ठूलाहरुमा पनि यो चलन कायम छ। हाम्रो दशैको टिका जस्तै ओतोसी दामा पनि ठूलाहरुले आफुभन्दा सानाहरुलाई दिइने चलन छ। कतिपय कम्पनीहरुले पनि आफ्ना कर्मचारीहरुलाई ओतोसी दामा नामको दक्षिणा दिने गर्दछन् ।

ओतोसीदामा(お年玉)यसरी दिने चलन छ।

जापानमा नयाँ वर्ष पारिवारिक भेटघाट, सम्बन्ध सुधार, र शान्तिपूर्ण जीवनको कामना गर्ने अवसर हो। यो केवल एउटा उत्सव मात्र होइन, आफ्नो मूल्य मान्यता र परम्परालाई सम्मान गर्ने समय पनि हो।

यस पर्वले जापानी समाजको सामूहिक भावना, परिवारप्रतिको प्रतिबद्धता, र सांस्कृतिक गौरवलाई झल्काउँछ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार