साईतामा/जापान। ख्याल गरौँ है,जापानमा कहिले कहीँ अत्यन्तै राम्रो देखिने स्थानीय सडक तथा राष्ट्रिय राजमार्गहरुमा पनि एक्कासी भासिने गर्दछ। जसमा गुडिरहेका गाडी तथा मानिसहरु दुर्घटनामा पर्ने गर्दछन् ।

आज, जनवरी २८ को बिहान, साईतामा प्रिफेक्चरको याशियो सहरको एक सडक भासिएर एउटा ट्रक नै उक्त खाल्डो भित्र खसेको छ । जसमा एक जना पुरुष सवार थिए। आकस्मिक उद्धारमा खठिएका अधिकारीहरुका अनुसार उद्धार कार्यमा कठिनाई देखिएको छ।

घटना बिहान करिब ९:४० बजे, याशियो सहरको “चुओ इच्योउमे चोकमा भएको हो, जहाँ सडक भासिएर करिब १० मिटर व्यास र ५ मिटर गहिरो खाल्डो बनेको छ। प्रत्यक्षदर्शीका अनुसार, भासिनु अघिसम्म ठिकै रहेको सडक अचानक भासियो, जसका कारण सो बाटो हुँदै गएको ट्रक खाल्डोमा खसेको हो।

अग्नि नियन्त्रण विभागका अनुसार, प्रारम्भमा ट्रकभित्रका व्यक्तिसँग संवाद सम्भव भए पनि, दोस्रो दुर्घटनालाई रोक्नको लागि सावधानीपूर्वक गरिएको उद्धार प्रयास कठिन बन्दै गएको छ। त्यसपछि, भित्र रहेका व्यक्तिसँग सम्पर्क हुन नसकेको जनाइएको छ।

साँझदेखि दुईवटा ठूला क्रेन प्रयोग गरेर ट्रकलाई खाल्डोबाट निकाल्ने प्रयास भैरहेको छ।

घटना स्थल याशियो नगरपालिकाको कार्यालयबाट करिब ३०० मिटर टाढा रहेको व्यस्त चोकमा भएको हो। यसै कारणले, प्रहरी प्रशासनले आसपासका सडकहरूमा आवागमनमा रोक लगाएको छ।

दुर्घटनाले सडकमुनि रहेको संचार केबल क्षतिग्रस्त भएपछि बिहान ९:५० बजेबाट करिब १४०० इन्टरनेट र फोन लाइनहरू तथा करिब ३०० फोन लाइनहरू अवरुद्ध भएका छन्। सेवाको पुनर्स्थापना कहिले हुन्छ भन्ने अझै थाहा छैन। एनटीटी पूर्व जापानले आफ्नो वेबसाइटमार्फत सबैलाई अद्यावधिक जानकारी लिन अनुरोध गरेको छ।

सडक भासिएको स्थानको करिब १० मिटर तल ढलको पाइप रहेको छ। सैतामा प्रिफेक्चरको ढल विभागका अनुसार, ढलको पाइप क्षय भई प्वाल बनेपछि माटो बगेर खाल्डो बनेको हुन सक्छ। त्यसमाथि सवारीसाधनको भारले गर्दा सडक भासिएको अनुमान गरिएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार