टोकियो/जापान। इन्टरनेटमा अवैध तथा हानिकारक जानकारी नियन्त्रण गर्ने ‘इन्टरनेट हटलाइन सेन्टर’ मा अवैध पार्टटाईम जब (यामी बाईतो-闇バイト)का विज्ञापनबारे गत वर्ष मात्रै करिब १४ हजार उजुरी प्राप्त भएको प्रहरी मुख्यालयको विवरणले देखाएको छ। प्रहरीले यो महिनादेखि यस्ता पोस्टलाई “अवैध सूचना” को रूपमा वर्गीकृत गर्दै सामाजिक सञ्जाल कम्पनीहरूलाई तत्काल हटाउन निर्देशन दिएको छ।

प्रहरी मुख्यालयको अनुरोधमा सञ्चालित ‘इन्टरनेट हटलाइन सेन्टर’ ले अनलाइनमा अवैध तथा हानिकारक सामग्रीको रिपोर्ट लिने गर्छ। प्रहरीका अनुसार, सन् २०२४ भरि यस्ता अवैध कामसम्बन्धी १३,८५२ वटा पोस्ट दर्ता भएका थिए।

यीमध्ये ९,२३४ वटा पोस्ट हटाइएन, जसलाई प्रहरी तथा सम्बन्धित निकायहरूले वेबसाइट संचालकहरूलाई हटाउन अनुरोध गरे। त्यस अनुरोधपछि ८५% (७,८६० पोस्ट) सन् २०२५ को जनवरी महिनासम्म हटाइयो।

तर, बाँकी १५% (१,३७४ पोस्ट) भने वेबसाइट संचालकहरूले अनुरोध अस्वीकार गरेकाले जनवरीसम्म पनि हटाइएन।

प्रहरी मुख्यालय र अन्य क्षेत्रीय प्रहरी निकायहरूले सामाजिक सञ्जालमा यामी बाईतो विज्ञापनविरुद्ध चेतावनी तथा सचेतना अभियान सञ्चालन गरिरहेका छन्। साथै, यो महिनादेखि हटलाइन सेन्टरको नयाँ मार्गदर्शन अनुसार,यामी बाईतो सम्बन्धी पोस्टहरू इन्टरनेटमा राख्नु नै “अवैध सूचना” मानिनेछ, जसका कारण प्रहरी तथा सरकारी निकायहरूले ती पोस्टहरूलाई झन् छिटो हटाउन दवाव दिनेछन्।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार