टोकियो/जापान। केही जापानी बैंकहरूले अब आवास अनुमति अवधी सकिएका विदेशीसँग सम्बन्धित यस्ता खाताबाट पैसा झिक्न रोक लगाउन थालेका छन् । जापानको वित्तीय सेवा निकायले मंगलबार दिएको जानकारी अनुसार, पछिल्ला दिनमा यस्तो प्रकारका बैंक खाता ठगी कार्यमा दुरुपयोग भएको पाइएपछि यो कदम चालिएको हो।

गत डिसेम्बरमा जापानको राष्ट्रिय प्रहरी एजेन्सी ले सबै बैंक तथा वित्तीय संस्थाहरूलाई यस्तो खालको कदम चाल्न आग्रह गरेको थियो। प्रहरीका अनुसार केही विदेशी निवासीसँग सम्बन्धित बैंक खाता अवैध रूपमा बिक्रीमा राखी “विशेष ठगी” मा प्रयोग गरिएको थियो जसमार्फत अपराधीहरूले आफन्त वा सरकारी कर्मचारी बनेर ठगी गर्ने गर्दछन्।

कुन-कुन बैंकहरूले यो नियम लागू गरिसकेका छन् भन्ने खुलासा नगरे पनि क्योदो न्यूज का अनुसार, जापानका तीन ठूला बैंकमध्ये एमयुएफजी बैंक र मिजुहो बैंक ले यो प्रक्रिया सुरु गरिसकेका छन्। अन्य बैंकहरूले पनि प्रणाली अपडेट गर्दै जाँदा यो व्यवस्था लागू गर्ने अपेक्षा गरिएको छ।

हाल जापानमा बसोबास गर्ने विदेशीहरूले आफ्नो बसाइ अवधि परिवर्तन वा नविकरण भएमा बैंकलाई जानकारी गराउनु पर्ने नियम छ। तर, विदेशी समुदायमा यो विषय अझै व्यापक रूपमा जानकारीमा छैन। त्यसैले, वैधानिक रूपमा बसोबास गरिरहेका व्यक्तिहरूले पनि यदि समयमै जानकारी नदिएमा यो नयाँ नियम अनुसार उनीहरूको खातामा रोक लगिन सक्नेछ।

वितिय सेवा एजेन्सी, अध्यागमन र प्रहरीबीच छलफलपश्चात यो निर्णय लिइएको हो। अपवाद बाहेक, बसोबासको अवधि सकिएपछि पनि खाता प्रयोग गर्नु “पहिचान चोरी” मानिने जनाइएको छ।

यसैअनुसार, बसोबास अवधि प्रमाणित नभएसम्म खाता प्रयोग (जस्तै निकासी वा स्थानान्तरण) रोक्ने निर्देशन दिइएको छ। तर बिजुली, ग्यास, पानीजस्ता सार्वजनिक सेवाहरूमा भने यो नियन्त्रण लागू नहुने जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार