टोकियो/जापान। सन् २०२४ को आर्थिक वर्षमा जापानमा टाट पल्टिएको घोषित कम्पनीहरूको संख्या ११ वर्षपछि पहिलोपटक १० हजार नाघेको छ। विशेषगरी साना तथा मध्यम आकारका कम्पनीहरू श्रमिक अभाव र बढ्दो मूल्यवृद्धिको चपेटामा परेका छन्।

टोकीयो शोको रिसर्चद्वारा मंगलबार प्रकाशित सर्वेक्षण अनुसार, कम्तीमा एक करोड येनभन्दा बढी ऋण बोकेका कम्पनीहरूमध्ये १२.१ प्रतिशतले वृद्धि भई कुल १० हजार १ सय ४४ पुगेका छन्।

दिवालिया भएका कम्पनीमध्ये ८९.४ प्रतिशत मा १० जना भन्दा कम कर्मचारी थिए। यी कम्पनीहरूले कोभिड-१९ महामारीका बेला लागू गरिएको विशेष कर स्थगन सुविधा अन्त्य भएपछि आफ्नो व्यवसायलाई वित्तीय रूपले धान्न नसकेर दिवालिया हुन पुगेका हुन्।

कुल ऋणभार भने अघिल्लो वर्षको तुलनामा ३.६ प्रतिशतले घटेर २ खर्ब ३७ अर्ब येन पुगेको छ।

उद्योगअनुसार हेर्दा, सेवा क्षेत्रमा सबैभन्दा बढी — ३ हजार ३ सय ९८ — कम्पनीहरू दिवालिया भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा १२.२ प्रतिशतले बढी हो र सन् १९८९ पछि यो क्षेत्रको सबैभन्दा उच्च दर हो। त्यसपछि निर्माण क्षेत्रमा १ हजार ९ सय ४३ केस देखिए, जुन ९.३ प्रतिशतको वृद्धि हो।

यसैबीच, लोजिस्टिक्स (ढुवानी) उद्योगमा भने मूल्य समायोजनको कारण ३.८ प्रतिशतले घटेर ४ सय २४ केसमा सीमित भएको देखिएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार