टोकियो/जापान। सेभेन एण्ड आइ होल्डिङ्सका अध्यक्ष स्टीभेन हेइज डेइकसले आगामी रणनीति सार्वजनिक गर्दै सन् २०३० सम्म जापानभर आफ्ना कन्विनिएन्स स्टोर “सेभेन इलेभेन”हरूलाई हालभन्दा करिब १ हजारले बढाउने योजना घोषणा गरेका छन् । कम्पनीले आफ्नो मुख्य व्यवसायका रूपमा रहेको कन्विनिएन्स स्टोरमार्फत समग्र कम्पनीको मूल्य वृद्धिमा ध्यान केन्द्रित गर्ने बताएको छ।

गत महिना क्यानडाको ठूला कन्विनिएन्स स्टोर कम्पनीले सेभेन एण्ड आइलाई खरिद प्रस्ताव गरे पनि अन्ततः उक्त प्रस्ताव फिर्ता लिएको थियो। त्यसपछि कम्पनीलाई एकल रूपमा आफ्नो मूल्य र प्रतिस्पर्धात्मकता बढाउने चुनौती थपिएको हो।

अध्यक्षले टोकियोमा आयोजित पत्रकार सम्मेलनमा भने , “दीर्घकालीन सफलताले कम्पनीभित्र आत्मसन्तुष्टि ल्याएर नवप्रवर्तनको गति सुस्त पारेको थियो। अब व्यवसायिक सञ्चालनलाई संकटको अनुभूति गर्दै छिटो परिवर्तन गर्नु आवश्यक छ।”

प्रमुख योजनाहरुमा हाल जापानभर करिब २१ हजार स्टोर रहेका सेभेन इलेभेनहरूलाई २०३० सम्म १ हजार थप गर्ने।ग्राहकलाई आकर्षित गर्न स्टोरभित्रै तातो, ताजा पाउरोटी तथा अन्य पकाउने सामग्रीहरू तयार गर्ने व्यवस्था मिलाइने।गैर-मूल व्यवसाय (जस्तै: सुपरमार्केट र रेस्टुरेन्ट) लाई क्रमशः हटाउँदै कन्विनिएन्स स्टोर व्यवसायमा विशेष ध्यान दिइने।सन २०३० सम्ममा कुल ३२ खर्ब येन लगानी गर्ने र अहिलेको १०० खर्ब येन बराबरको बिक्रीलाई ११३ खर्ब येन पुर्‍याइने रहेका छन् ।

सेभेन एण्ड आइले आफ्नो ब्राण्ड, सेवा र स्टोर अनुभवमा सुधार ल्याएर प्रतिस्पर्धी बजारमा अग्रस्थान कायम राख्ने लक्ष्य लिएको छ। व्यवसायिक संरचनामा उल्लेखनीय परिवर्तनको यो योजना कम्पनीको दीर्घकालीन दृष्टिकोणमा आधारित रहेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार