टोकियो/जापान। जापानमा ऐतिहासिक उच्च गर्मीका कारण यस वर्षको धान उत्पादनमा पनि ठूलो असर पर्ने अनुमान गरिएको छ। जसले मुख्य अन्न चामलको अभाव र मूल्यवृद्धि बढाउने जोखिम ल्याएको छ। जुलाई महिनामा तोहोकु र होकुरिकु जस्ता प्रमुख धान उत्पादन क्षेत्रहरूमा लगभग ८० वर्षयताकै न्यूनतम वर्षा भयो। त्यसपछि सुरु भएको लगातार गर्मीको लहरले देशका धेरै भागहरूमा तापक्रमले ऐतिहासिक रेकर्ड कायम गरेको छ।

धान भित्र्याउने समय प्रायः गर्मीको अन्त्यतिर सुरु हुने भए पनि पछिल्ला वर्षहरूमा प्रतिकूल मौसमका कारण आपूर्ति घट्दै आएको छ। गत वर्षको भन्दा करिब ५० प्रतिशत महँगो भइसकेको चामलको मूल्य अझ बढ्ने खतरा देखिएको छ, जसले आम उपभोक्ता र राजनीतिक नेतृत्वमा थप दबाब सिर्जना गर्नेछ। मियागी विश्वविद्यालयका कृषि नीति विज्ञ प्राध्यापक काजुनुकी ओहिजुमीका अनुसार गर्मी र सुख्खाका कारण यस वर्ष उत्पादन र वितरण दुवैमा कमी हुने लगभग पक्का छ।

कृषि, वन तथा मत्स्य मन्त्रालयका अनुसार यदि मौसमको प्रतिकूल प्रभाव अन्य क्षेत्रमा समेत फैलियो भने जोखिम अझ बढ्नेछ। उत्पादनको वास्तविक आँकडा शरद ऋतुको धान भित्र्याएपछि मात्र पत्ता लाग्नेछ। यसअघि यो वर्षको सुरुवातमै चामलको अभावका कारण विद्यालयहरूले मध्याह्न भोजनमा चामलको खाना दिने दिनहरू घटाएका थिए र होटल रेस्टुरेन्टहरूले पनि मूल्य बढाएका थिए। यो संकट सन् २०२३ को अत्यधिक गर्मीबाट सुरु भएको हो, जसले दशकयताकै न्यूनतम उत्पादन ल्याएको थियो।

सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीले गत जुलाईको उच्च सदन निर्वाचनमा ठूलो पराजय भोगेको कारणमध्ये एक चामल संकट पनि हो। यदि गर्मी र सुख्खाको असर नभएको भए यस वर्ष धान उत्पादन करिब ८ प्रतिशत बढेर ७३ लाख ५० हजार मेट्रिक टन पुग्ने अनुमान गरिएको थियो। तर चरम गर्मी मौसमका कारण उत्पादन पूर्वानुमान अनिश्चित बनेको छ।

अमेरिकी कृषि विभागको हालको अनुमानअनुसार सन् २०२५ मा जापानको धान उत्पादन ७२ लाख ८० हजार टन पुग्ने देखिन्छ, जुन सन् २००३ पछि सबैभन्दा कम हुने हो। विश्वका अन्य प्रमुख उत्पादक देशहरूमा अनुकूल मौसमका कारण आपूर्ति बढेर मूल्य घट्दो क्रममा भए पनि जापानमा अवस्था विपरीत देखिएको छ।

जापानले आफ्नो धान उद्योग संरक्षणका लागि आयातमा कडाइ गरेको छ। वार्षिक ७ लाख ७० हजार टन मात्र शुल्क मुक्त आयात हुन्छ भने त्यसबाहेक ल्याइने चामलमा प्रति किलोग्राम ३४१ येन शुल्क लाग्छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार