टोकियो/जापान। जापानको ठुलो ग्युदोन (बीफ–बाउल) चेन “सुकिया” ले आगामी सेप्टेम्बर ४ देखि ग्युदोन तथा सम्बन्धित परिकारहरूको मूल्य घटाउने घोषणा गरेको छ। यो मूल्य कटौती ११ वर्षपछि पहिलो पटक हुन लागेको हो। कम्पनीले लगातार बढिरहेको मूल्यवृद्धिको बीचमा ग्राहक संख्या बढाउने लक्ष्य राखेको जनाएको छ।

सुकियाले सार्वजनिक गरेको विवरण अनुसार, सेप्टेम्बर ४ देखि ग्युदोन र ग्युसारा (बीफ प्लेट) का धेरै मेनुहरूमा १० येनदेखि ४० येनसम्म मूल्य घटाइनेछ।

यसमा,ग्युदोनको ‘नामिमोरी’ (साधारण साइज) हालको करसहित ४८० येनबाट ४५० येनमा,‘ओमोरी’ (ठूलो साइज) ६८० येनबाट ६५० येनमा झारिनेछ।यो मूल्य कटौती सन् २०१४ पछि पहिलोपटक हो।

कम्पनीका अनुसार, जापानमा लामो समयदेखि बढिरहेको मूल्यवृद्धि र वास्तविक ज्यालादर घटिरहेको अवस्थालाई मध्यनजर गर्दै, अझ किफायती मूल्यमा परिकार उपलब्ध गराएर ग्राहकलाई आकर्षित गर्ने प्रयास गरिएको हो।

तर, सुकियाको लागि अर्को चुनौती पनि छ। यस वर्ष मार्च महिनामा परिकारमा बाहिरी वस्तु मिसिएको घटना सार्वजनिक भएपछि, ग्राहक संख्या गत वर्षको तुलनामा लगातार घटिरहेको छ। कम्पनीले यो मूल्य कटौतीलाई ग्राहक फिर्ता ल्याउने प्रयासको रुपमा लिएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार