टोकियो,जापान। पश्चिम टोकियोको पार्किङ लटबाट रोड बाइक चोरी गरेको आरोपमा एक जना ३८ वर्षीय पुरुष पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ परेका केन्जी उएहारा नामका व्यक्तिले गत वर्षको अन्त्यतिरदेखि हालसम्म करिब एकदेखि दुई हजार साइकल चोरी गरेको स्वीकार गरेका छन्।

प्रहरीले साईतामा प्रान्तको कावागोएस्थित एक रिसाइकल कम्पनीमा उनले कम्तीमा ९५० वटा साइकल बिक्री गरेको तथ्य पत्ता लगाएको छ। प्रहरीको अनुमान अनुसार उनले टोकियो र छिमेकी कानागावा प्रान्तका विभिन्न स्थानबाट साइकल चोरी गरी ट्रकमार्फत लैजाने गरेका थिए।

गत अगस्टमा पश्चिम टोकियोको इनागीस्थित एक अपार्टमेन्ट पार्किङबाट करिब ३० हजार येन मूल्यको रोड बाइक चोरी गरेको अभियोगमा उनी बिहीबार पुनः पक्राउ परेका हुन्। उएहाराले प्रहरीले दिएको बयानमा रोड बाइकको बजार मूल्य उच्च हुने भएकाले चोरी गरेको स्वीकार गरेका छन्।

यसअघि पनि उनलाई यही इनागी क्षेत्रमा अर्को बाइक चोरी गरेको अभियोगमा अक्टोबर ११ मा पक्राउ गरिएको थियो। प्रहरीले हाल यस घटनामा थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार