टोकियो। जापान सरकारले आगामी वित्तीय वर्षदेखि विदेशी आवासीयहरूका लागि भिसा सम्बन्धी शुल्कहरू उल्लेखनीय रूपमा बढाउने तयारी गरेको छ। उठ्ने अतिरिक्त राजस्वलाई जापानमा बहुसांस्कृतिक समाज निर्माण तथा विदेशीजन–सम्बन्धी नीतिहरूलाई मजबुत बनाउन प्रयोग गरिने सरकारी स्रोतहरूले जनाएका छन्।

हाल भिसा नवीकरण वा भिसा स्टाटस परिवर्तनको शुल्क ६ हजार येन छ। तर नयाँ शुल्क संरचना लागू भएपछि यो रकम झन्डै ४० हजार येनले बढेर ४६ हजार येनसम्म पुग्ने अनुमान गरिएको छ। यसैगरी, स्थायी आवास (Permanent Residency) भिसा शुल्क पनि अहिलेको १० हजार येनबाट बढेर १ लाख येनभन्दा माथि पुग्ने तयारी भइरहेको छ, जुन प्रतिशतका हिसाबले जापानको इतिहासमै सबैभन्दा ठूलो वृद्धि मानिनेछ।

सरकारका अनुसार जापानको भिसा शुल्क पछिल्ला वर्षहरूमा अन्य विकसित राष्ट्रहरूको तुलनामा निकै कम थियो। यही कारण प्रधानमन्त्री सानाए ताकाइचीले यस महिनाको मन्त्रीस्तरीय बैठकमा भिसा शुल्क “अन्तर्राष्ट्रिय मानकसँग मिलाउने” निर्देशन दिएको बताइएको छ। यसका लागि सरकारले अध्यागमन नियन्त्रण कानुन संशोधन गर्न आवश्यक विधेयक आगामी संसद अधिवेशनमा पेस गर्ने तयारी गरिरहेको छ।

यो शुल्क पछिल्लो पटक यो वर्षको अप्रिलमा महंगी तथा प्रशासनिक लागतका कारण परिवर्तन गरिएको थियो। त्यतिबेला नवीकरण तथा भिसा स्टाटस परिवर्तन शुल्क ४ हजारबाट ६ हजार बनाइएको थियो भने स्थायी आवास भिसा शुल्क ८ हजारबाट १० हजार येन गरिएको थियो। तर नयाँ प्रस्तावित शुल्क त्यस भन्दा पनि धेरै गुणा बढेको देखिन्छ।

यसबीच, जापानमा विदेशी जनसंख्या ऐतिहासिक रूपमा वृद्धि भइरहेको छ। इमिग्रेशन सर्भिसेस एजेन्सीका अनुसार जुन महिनासम्म जापानमा बसोबास गर्ने विदेशीको संख्या ३९ लाख ५६ हजार ६१९ पुगेको छ, जुन अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार