टोकियो,जापान। जापानमा अण्डाको मूल्य फेरि बढेर विगतको उच्चतम स्तरमा पुगेको छ। कृषि, वन तथा मत्स्य मन्त्रालय (नोरिनसुइसानशो) ले सार्वजनिक गरेको खाद्य मूल्य प्रवृत्ति सर्वेक्षणअनुसार फेब्रुअरी ९ देखि १० तारिखसम्म अण्डाको औसत खुद्रा बिक्री मूल्य (मिश्रित साइज, १० वटा) प्रति प्याक ३०८ येन पुगेको छ। यो अघिल्लो महिनाको तुलनामा २ येनले बढी हो।

उक्त मूल्य सामान्य वर्षको तुलनामा २० प्रतिशतभन्दा बढीले महँगो रहेको मन्त्रालयले जनाएको छ। साथै, यो मूल्य गत डिसेम्बरमा रेकर्ड गरिएको हालसम्मकै उच्चतम मूल्यको बराबरीमा पुगेको हो।

देशका विभिन्न क्षेत्रमा बर्ड फ्लु संक्रमण लगातार देखिएकाले अण्डा उत्पादन तथा आपूर्ति प्रभावित भइरहेको छ। आपूर्ति क्षमता छिट्टै पुनःस्थापित हुन नसकेमा आगामी दिनहरूमा पनि मूल्य उच्च स्तरमै रहने सम्भावना रहेको बताइएको छ।

खाद्य मूल्य प्रवृत्ति सर्वेक्षण देशभरका करिब ४७० खुद्रा पसलमा बिक्री भएका मासु र अण्डाको औसत मूल्यका आधारमा प्रत्येक महिना एकपटक सार्वजनिक गरिन्छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार