टोकियो जापान। जापानको भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालयले अप्रिल महिनादेखि हवाईजहाजभित्र पावर बैंक प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। उडानका क्रममा मोबाइल ब्याट्री (पावर बैंक)बाट आगलागीका घटना दोहोरिन थालेपछि यस्तो निर्णय गरिएको हो।

मन्त्रालयले एयरलाइन्सहरूलाई जानकारी गराउँदै अब उडानका बेला पावर बैंक प्रयोग गरेर स्मार्टफोन चार्ज गर्न नपाइने मात्र होइन, जहाजभित्रको पावर आउटलेटमार्फत पावर बैंक आफैं चार्ज गर्न समेत रोक लगाइने जनाएको छ।

यसअघि नै सन् २०२५ को जुलाईदेखि यात्रुहरूलाई पावर बैंक ओभरहेड कम्पार्टमेन्टमा नराख्न र सधैं आफूसँगै राख्न आग्रह गरिएको थियो। लिथियम–आयन ब्याट्री झट्का लाग्दा वा लामो समय प्रयोगका कारण बिग्रँदा आगो लाग्न सक्ने मन्त्रालयले जनाएको छ।

हाल पावर बैंक चेक–इन सामानमा राख्न पूर्ण प्रतिबन्ध छ भने ह्यान्ड–क्यारी सामानमा पनि संख्या र क्षमताको सीमा तोकिएको छ। सन् २०२५ को जनवरीमा Air Busan Co. द्वारा सञ्चालन गरिएको लो–कस्ट उडानमा भएको आगलागीको कारण दोषपूर्ण पावर बैंक भएको आशंका गरिएको थियो।

यस निर्णयले उडान सुरक्षालाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार