टोकियो जापान। काठमाडौँको खुसिबुस्थित गीताञ्जली स्कूलमा मार्च ८, २०२६ मा “नेपालमा भविष्यका प्रधानमन्त्री कार्यशाला” सम्पन्न भएको छ। कार्यक्रममा जुनियर हाईस्कुल र हाईस्कुलका २८ विद्यार्थीहरू सहभागी भएका थिए भने गीताञ्जली कलेजका स्नातक तहका ५ विद्यार्थीहरूले सहायक सहजकर्ताको रूपमा सहयोग गरेका थिए।
कार्यक्रमको सुरुवातमा गीताञ्जली स्कूलका प्राचार्य श्री वेद प्रसाद पन्तले अतिथिहरू र सहभागीहरूलाई स्वागत गर्दै युवाहरूको सक्रिय सहभागिताले भविष्यको नेतृत्व निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यशाला जापानको चिबा विश्वविद्यालयको सामाजिक विज्ञान संकायद्वारा सञ्चालन गरिएको हो। जापानमा यो कार्यक्रम सन् २०१५ देखि जापान विज्ञान तथा प्रविधि एजेन्सीको सहकार्यमा नगरपालिका स्तरमा “भविष्य कार्यशाला” का रूपमा सञ्चालन हुँदै आएको छ। नेपालमा आयोजित यो कार्यक्रम उक्त अवधारणाको विदेशमा गरिएको पहिलो अभ्यास मानिएको छ।
कार्यक्रम टोलीका नेता चिबा विश्वविद्यालयका सामाजिक विज्ञान संकायका प्राध्यापक डा. हिदेफुमी कुरासाकाले कार्यशालाको उद्देश्य र महत्वबारे प्रकाश पार्दै भविष्यका नीति निर्माणमा युवाको दृष्टिकोण समेट्नु अत्यन्त आवश्यक भएको बताउनुभयो।
कार्यक्रमका प्रमुख सहजकर्ता चिबा विश्वविद्यालयका सामाजिक विज्ञान संकायका अनुसन्धान सहायक प्राध्यापक डा. दिपेन्द्र ढकाल रहनुभएको थियो। सहभागी विद्यार्थीहरूले नेपालको सन् २०५० सम्मको सम्भावित अवस्था, चुनौती र अवसरहरूबारे विभिन्न प्रस्तुतीकरण गरेका थिए।
प्रस्तुतीकरणमाथि टिप्पणी गर्दै पशु तथा कृषि विज्ञान संस्थान, त्रिभुवन विश्वविद्यालयका सहायक डीन डा. पुष्पराज पौडेल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव डा. कमल पौडेल र गीताञ्जली स्कूलका प्राचार्य वेद प्रसाद पन्तले नेपालको वर्तमान अवस्था, भविष्यका चुनौतीहरू र दिगो समाज निर्माणका सम्भावनाबारे आफ्नो धारणा राख्नुभयो।
जापानमा यस प्रकारका कार्यशालाहरूले सन् २०५० मा जापानका सहर र समाज कस्ता हुन सक्छन् भन्ने विषयमा समस्याको पहिचान गर्दै समाधानका लागि नीति निर्माणमा स्थानीय निकायहरूलाई सुझाव दिने कार्य गर्दै आएका छन्।
कार्यक्रममा जुनियर हाईस्कुल र हाईस्कुलका विद्यार्थीहरूलाई भविष्यका नेतृत्वकर्ताका रूपमा हेर्दै उनीहरूको विचार, दृष्टिकोण र सिर्जनशीलतालाई नीति निर्माणको प्रक्रियासँग जोड्ने प्रयास गरिएको थियो।
अन्त्यमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रम प्रमुख प्राध्यापक डा. हिदेफुमी कुरासाकाले नेपाली युवा विद्यार्थीहरू अत्यन्तै लगनशील, ऊर्जाशील र हरेक विषयप्रति गहिरो रुचि राख्ने रहेको अनुभव भएको बताउनुभयो। उहाँले राष्ट्रियता, आर्थिक वृद्धि, जलवायु परिवर्तन, बसाइँसराइ र कृषिलगायत विषयमा युवाहरूलाई सोच्न प्रेरित गर्दै देश विकासप्रति मोह जगाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको उल्लेख गर्नुभयो।
उहाँका अनुसार यो कार्यशाला एउटा मोडल कार्यक्रमका रूपमा गरिएको हो र यही वर्षभित्र नेपालका विभिन्न स्थानीय निकायहरूमा थप यस्ता कार्यशालाहरू विस्तार गर्ने योजना पनि रहेको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




