टोकियो,जापान।जापानको लजिस्टिक्स क्षेत्रमा पहिलो पटक नेपाली युवा चालकको रूपमा प्रवेश गर्नु केवल व्यक्तिगत उपलब्धि मात्र नभई सम्पूर्ण नेपाली समुदायका लागि पनि खुसीको विषय बनेको छ। ओकिनावाको उरासोए सहरस्थित लजिस्टिक कम्पनी “अंशिन” मा नेपाली युवा साजन रावल चालकको रूपमा भर्ना भएका छन्।

जापानमा पछिल्लो समय लजिस्टिक क्षेत्रमा गम्भीर जनशक्ति अभाव देखिँदै आएको छ। यही अभावलाई समाधान गर्ने उद्देश्यले जापान सरकारले सन् २०२४ देखि “ तोकुतेइगिनो १” (विशेष सीप १) भिसाको दायरा विस्तार गर्दै सवारी चालक क्षेत्रलाई समेत समेटेको थियो। यसै अवसरलाई सदुपयोग गर्दै साजन रावलले आफ्नो मेहनत र धैर्यताका बलमा यो उपलब्धि हासिल गरेका हुन्।

करिब ४ वर्षअघि जापान आएका साजनले जापानी भाषा परीक्षा, पहिलो श्रेणीको ड्राइभिङ लाइसेन्स तथा विशेष सीप मूल्याङ्कन परीक्षा गरी आवश्यक सम्पूर्ण प्रक्रिया सफलतापूर्वक पूरा गरेका छन्। कम्पनीको सहयोग, आफ्नै लगनशीलता र निरन्तर प्रयासका कारण आज उनी जापानको लजिस्टिक क्षेत्रमा चालकको रूपमा प्रवेश गर्न सफल भएका छन्।

उनले आफ्नो लक्ष्य स्पष्ट पार्दै भनेका छन्-“छिट्टै काम सिकेर कम्पनीमा योगदान दिन म पूर्ण रूपमा समर्पित रहनेछु।”

कम्पनी “आँशिन” ले जापानी भाषा विद्यालय र ड्राइभिङ स्कूलसँग सहकार्य गर्दै विदेशी चालक उत्पादन गर्ने यो पहल सुरु गरेको हो, जुन यस क्षेत्रमा पहिलो उदाहरण मानिएको छ। आगामी दिनमा यस्ता प्रयासहरू अझ बढ्दै जाने अपेक्षा गरिएको छ।

यो उपलब्धिले जापानमा रहेका नेपाली युवाहरूका लागि नयाँ ढोका खोलिदिएको छ। अब केवल रेस्टुरेन्ट, कारखाना वा केयर क्षेत्रमा सीमित नभई, व्यावसायिक चालक जस्तो जिम्मेवार र सम्मानित क्षेत्रमा पनि नेपालीहरूले आफ्नो क्षमता देखाउन सक्ने स्पष्ट संकेत दिएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार