टोकियो/जापान। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जापान शाखाको आयोजनामा नेपाली लोकसङ्गीतका वरिष्ठ गायक एवं सर्जक अम्बर बिरही गुरुङको सम्मानमा आयोजित ‘अम्बर बिरही गुरुङ सांगीतिक साँझ’ तथा ‘प्रथम जापान लोक तारा २०२६’ भव्य रूपमा सम्पन्न भएको छ।

आइतवार टोकियोस्थित मेगुरो कुमिन सेन्टरमा सम्पन्न कार्यक्रममा जापानका विभिन्न क्षेत्रबाट नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको औपचारिक उद्घाटन सरस्वतीको तस्वीरमा माल्यार्पण तथा राष्ट्रिय गानबाट गरिएको थियो।

‘प्रथम जापान लोक तारा २०२६’ को फाइनल चरणमा उत्कृष्ट पाँच प्रतिभाबीच प्रत्यक्ष प्रस्तुति गराइएको थियो। सहभागी कलाकारहरूले लोकसङ्गीतप्रतिको आफ्नो प्रतिभा, साधना र गायन क्षमता प्रस्तुत गरेका थिए।

प्रतियोगिताको अन्तिम नतिजाअनुसार केशव शर्मा प्रथम हुँदै ‘जापान लोक तारा २०२६’ को उपाधि जित्न सफल हुनुभयो। तनुजा शाही द्वितीय, पार्वती आचार्य तृतीय तथा किरण प्रभात र आरती परियार सान्त्वना स्थान हासिल गर्न सफल भए।

प्रथम हुने शर्माले नगद १ लाख १ हजार येन, ट्रफी, प्रमाणपत्र तथा उपाधि प्राप्त गर्नुभयो। द्वितीय स्थान हासिल गर्ने तनुजा शाहीले नगद ५१ हजार येन, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नुभयो भने तृतीय स्थान हासिल गर्ने पार्वती आचार्यले नगद ३१ हजार येन, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नुभयो। सान्त्वना स्थान हासिल गर्ने किरण प्रभात र आरती परियारलाई जनही ११ हजार येन, सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिताका निर्णायक संयोजक राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव रामकृष्ण बम मल्ल रहनुभएको थियो। निर्णायकमा चर्चित लोकदोहोरी गायक सूर्य खड्का र लोकगायिका ज्योति लोहनी रहनुभएको थियो। निर्णायकहरूले सुर–ताल, भाका, मौलिकता, भाव, प्रस्तुति, शब्द उच्चारण, भेषभूषा र अनुशासनका आधारमा मूल्याङ्कन गरेका थिए।

कार्यक्रमकै अवसरमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव, लोकप्रिय गायक, सर्जक तथा ‘प्रथम जापान लोक तारा २०२६’ का निर्णायक संयोजक रामकृष्ण बम मल्ललाई “लोक सङ्गीत शिरोमणि–२०२६” सम्मानबाट सम्मानित गरिएको थियो।

नेपाली लोकसङ्गीतको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा उहाँले पुर्‍याउनुभएको योगदान, मौलिक सिर्जना र गायनमार्फत लोकसङ्गीतलाई समृद्ध बनाउन खेल्नुभएको भूमिका तथा नयाँ पुस्ताका कलाकारहरूलाई मार्गदर्शन गर्दै निरन्तर सक्रिय रहनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

सम्मान ग्रहणपछि मल्लले आफूलाई प्रदान गरिएको सम्मान सम्पूर्ण लोकसङ्गीतकर्मीहरूको साझा सम्मान भएको बताउनुभयो। उहाँले नेपाली लोकसङ्गीतको संरक्षण, विकास र पुस्तान्तरणका लागि आगामी दिनमा पनि निरन्तर समर्पित भएर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

मल्लले प्रवासमा रहेर नेपाली भाषा, कला, संस्कृति तथा लोकसङ्गीतको जगेर्ना गर्दै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जापान शाखाले सञ्चालन गरेका सिर्जनात्मक तथा सांस्कृतिक गतिविधिहरूको प्रशंसा गर्नुभयो। उहाँले यस्ता कार्यक्रमले नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा जापानका लागि नेपाली राजदूतावासका कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले प्रवासमा रहेर पनि नेपाली भाषा, कला, संस्कृति तथा लोकसङ्गीतको संरक्षण र प्रवर्द्धनमा प्रतिष्ठान जापान शाखाले पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले नेपाली समुदायबीच एकता, सद्भाव र सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी विभिन्न संघसंस्था तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै प्रतिष्ठान जापान शाखाले प्रवासमा नेपाली कला, संस्कृति र लोकसङ्गीतको जगेर्नाका लागि गरिरहेको कार्यको प्रशंसा गरेका थिए। वक्ताहरूले ‘प्रथम जापान लोक तारा २०२६’ जस्ता कार्यक्रमले नयाँ प्रतिभाहरूलाई अवसर प्रदान गर्नुका साथै नेपाली मौलिक संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने धारणा राखेका थिए।

कार्यक्रमका मुख्य आकर्षण वरिष्ठ लोक तथा दोहोरी गायक तथा सर्जक अम्बर बिरही गुरुङ रहनुभएको थियो। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्षसमेत रहनुभएका गुरुङले प्रत्यक्ष बाद्यवादक टोलीसहित आफ्ना दर्जनौँ कालजयी तथा लोकप्रिय गीतहरू प्रस्तुत गर्नुभएको थियो।

७२ वर्षको उमेरमा पनि युवाको जस्तै जोस, जाँगर र ऊर्जाका साथ मञ्चमा प्रस्तुत हुनुभएका गुरुङले उपस्थित दर्शक तथा श्रोताहरूलाई सुरुदेखि अन्त्यसम्म बाँधेर राख्न सफल हुनुभयो। उहाँका गीत प्रस्तुत भइरहँदा कार्यक्रमस्थलमा उपस्थित नेपालीहरू गीतसँगै स्वर मिलाउँदै, नाच्दै र रमाउँदै देखिन्थे।

गुरुङका सिर्जनाले नेपाली समाजका भोगाइ, भावना, प्रेम, पीडा, संस्कृति र जीवनका विविध पक्षलाई समेटेकाले पुरानो पुस्तादेखि युवा पुस्तासम्मलाई समान रूपमा आकर्षित गरेको देखिन्थ्यो। उहाँको प्रस्तुतिले मनोरञ्जन मात्र प्रदान गरेन, नेपाली लोकसङ्गीतको मौलिकता, इतिहास र पहिचानलाई समेत पुनः स्मरण गराएको थियो।

कार्यक्रमको सभापतित्व राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जापान शाखाका अध्यक्ष समुन्द्र राज पौडेलले गर्नुभएको थियो। स्वागत मन्तव्य प्रतिष्ठान जापान शाखाकी प्रथम उपाध्यक्ष सोना केसीले राख्नुभएको थियो भने सचिव दिपक कंडेल ‘सफल’, महिला उपाध्यक्ष बाला दुरा तथा सल्लाहकार रमेश पाण्डे ‘छवि’को संयुक्त सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

लोकसङ्गीतका जीवित इतिहास अम्बर बिरही गुरुङको विशेष सांगीतिक प्रस्तुति, उत्कृष्ट पाँच प्रतिभाबीचको प्रत्यक्ष प्रतिस्पर्धा, ‘जापान लोक तारा २०२६’ को उपाधि घोषणा, “लोक सङ्गीत शिरोमणि–२०२६” सम्मान अर्पण तथा नेपाली कला, संस्कृति र लोकसङ्गीतको अनुपम संगमसँगै कार्यक्रम जापानस्थित नेपाली समुदायका लागि एक अविस्मरणीय सांगीतिक उत्सवका रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार