११ माघ, काठमाडौं । आज बिहीबार, राजधानीबाट प्रकाशित भएका सबै राष्ट्रिय दैनिक पत्रिकाहरुले राष्ट्रियसभा निर्वाचनका लागि बुधबार भएको उम्मेदवारी दर्ताको विषयलाई समाचार बनाएका छन् । केहीले यसलाई प्रमुख समाचार बनाएर छापेका छन् भने केहीले प्राथमिकता दिएर लेखेका छन् ।

मन्त्रिपरिषदको बुधबार बसेको बैठकले गरेका निर्णयहरुले पनि आजको पत्रपत्रिकामा उत्तिकै ठाउँ पाएको छ । ६५ वर्षमै वृद्धभत्ता दिने र भूकम्पपीडित अनुदान १ लाख थप्ने सरकारको निर्णयलाई पत्रपत्रिकाहरुले विभिन्न शीर्षक दिएर प्रकाशित गरेका छन् । केही दैनिक पत्रिकाहरुले यसको आलोचना गरेका छन् भने केहीले विशुद्ध समाचारका रुपमा पस्केका छन् ।

हिमपातले देशका विभिन्न स्थानको जनजीवन प्रभावित बन्न पुगेको छ । यो विषयलाई पनि आजका पत्रपत्रिकाहरुले छुटाएका छैनन् । पत्रपत्रिकाहरुका अनुसार, देशैभर हिउँदे वर्षा र हिमपात भएको छ ।

यसका अतिरिक्त प्रहरीमा ३० वर्षे हटाउने प्रयास भइरहेको, चुरे पदाधिकारीले पदको दुरुपयोग गरेकोलगायत समाचार पनि आजका पत्रपत्रिकाहरुमा छापिएका छन् ।

जाँदा–जाँदै लोकरिझ्याइँ, वृद्ध भत्ताको निर्णयले राज्यलाई अर्बौंको व्ययभार

अन्नपूर्ण पोस्ट दैनिकले बुधबार बसेको मन्त्रिपरिषदको बैठकले लोकरिझ्याइँका लागि हचुवाको भरमा निर्णय गरेको र त्यसले राज्यलाई थप आर्थिक भार परेको समाचार लेखेको छ ।

समाचार अनुसार शेरबहादुर देउवा नेतृत्वको सरकारले ठाडो आदेशका भरमा सामाजिक सुरक्षा भत्ता पाउने उमेर घटाएको छ । कामचलाउ सरकारको यो निर्णयले राज्यकोषमा अर्बौंको व्ययभार थपिनेछ ।

अर्थ मन्त्रालयका अनुसार सामाजिक सुरक्षा भत्तामा हाल वार्षिक ३६ अर्ब रुपैयाँ खर्च हुँदै आएको छ । ६५ वर्ष सम्मकालाई भत्ता दिने निर्णय गर्दा यो रकममा उल्लेख्य वृद्धि हुने अर्थका अधिकारी बताउँछन् ।

राष्टियसभा चुनावः २०५६ मतदाता, मतमूल्य ५३ हजार ५ सय ८

२४ माघमा हुने राष्टियसभा निर्वाचनमा २ हजार ५६ मतदाताको कुल मतमूल्य ५३ हजार ५ सय ८ हुने समाचारलाई आज राजधानी दैनिकले लेखेको छ । निर्वाचनमा स्थानीय तहका प्रमुख र उप्रमुख तथा प्रदेशसभा सदस्य मतदाता हुनेछन् । स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेश सदस्यको ४८ छ ।

देशभरिका मतदाताले दिने मतभार हिसाब गर्दा कुल मतमूल्य ५३ हजार ५०८ हुनेछ । यही मतमूल्यको हिसाबबाट राष्ट्रियसभा सदस्य निर्वाचित गरिने राजधानी दैनिकको समाचारमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार