काठमाडौं, १७ चैत । एसियाको सबैभन्दा बृहत् खेलकुद प्रतियोगिता हो, ‘एसियाली खेलकुद’। इन्डोनेसियाको राजधानी जाकार्तामा १८औं एसियाली खेलकुद सुरु हुन करिब चार महिना बाँकी रहँदा यस क्षेत्रका अधिकांश राष्ट्र प्रतियोगिताको अन्तिम तयारीमा व्यस्त देखिन्छन् । प्रतियोगितामा बढीभन्दा बढी पदक जितेर आफूलाई एसियाकै शक्तिशाली खेल राष्ट्रको रूपमा स्थापित गराउन कतिपय राष्ट्रले आफ्ना खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाएका छन् भने अधिकांशले आफ्नै देशभित्र व्यवस्थित प्रशिक्षण सञ्चालन गरेका छन् ।
सहभागिताको ६७ वर्ष बितिसक्दा पनि नेपालका लागि भने एसियाली खेलकुद अनुभव बटुल्ने अवसरका रूपमा मात्र सीमित हुँदै आएको छ। नेपालको अहिलेको तयारी हेर्दा आगामी एसियाली खेलकुद पनि विगतको भन्दा फरक नहुने खेलाडी र प्रशिक्षक बताउँछन्। प्रतियोगिता सुरु हुन केवल चार महिना बाँकी रहँदा मानसिक र प्राविधिक रूपमा सबल स्थितिमा रहनुपर्ने नेपाली खेलाडी यतिबेला अभ्यास गर्ने उपयुक्त ठाउँकै खोजीमा भौंतारिनुपर्ने अवस्था छ । अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ ।
०७२ साल वैशाखमा गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनेका खेलकुदका भौतिक संरचना तीन वर्षसम्म पनि उस्तै अवस्थामा रहँदा त्यसको प्रभाव एसियाली खेलकुदजस्तो ठूलो प्रतियोगिताको तयारीमा परेको छ । भूकम्पले क्षतिग्रस्त बनेको काठमाडौंको एक मात्र राष्ट्रिय रंगशाला पनि पुनर्निर्माण क्रममा रहेका कारण अहिले एसियाली खेलकुदको तयारीमा रहेका खेलाडी सबैभन्दा बढी मारमा परेका छन् ।
भत्किएकै रंगशालामा भए पनि जेनतेन आफ्नो अभ्यासलाई निरन्तरता दिँदै आएका एथलेटिक्स, आईटीएफ तेक्वान्दो, आर्चरीलगायत विभिन्न खेलका खेलाडीलाई शुक्रबारदेखि अप्रत्याशित रूपमा रंगशाला प्रवेशमा रोक लगाइएपछि ती खेलका खेलाडी झनै बिचल्लीमा परेका छन् । ‘खेलाडी शुक्रबार बिहानै नियमित अभ्यासका लागि आउँदा रंगशालाभित्र प्रवेश गर्न दिइएन । एसियाली खेलकुदको तयारीमा व्यस्त खेलाडीलाई रंगशाला प्रवेशमा किन रोक लगाइएको हो हामीलाई थाहा भएन’, एथलेटिक्सका प्रमुख प्रशिक्षक अमिरी यादवले गुनासो गरे ।
एसियाली प्रतियोगिताका लागि एथलेटिक्स खेलाडीको अन्तिम चरणको छनोट यसै महिना हुँदैछ । त्यो प्रतियोगिताबाट छनोट भएका खेलाडीले नै आगामी एसियाली खेलकुदमा राष्ट्रको प्रतिनिधित्व गर्नेछन् । तर, अन्तिम चरणको छनोट प्रतियोगिता नजिकिँदै जाँदा अभ्यासका लागि रंगशाला प्रवेशमा समेत रोक लगाइएपछि खेलाडीसमेत आक्रोशित बनेका छन् । ‘हामीले भनेजस्तो अभ्यास गर्न पाएका छैनौं । अन्तिम चरणको छनोट नजिक आइसकेकाले अहिले त झन् हाम्रा लागि एक÷एक क्षण महत्वपूर्ण छ’, बन्द प्रशिक्षणमा रहेका छोटो दूरीका धावक आशिष चौधरीको कथन छ ।
‘अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि हामीले वर्षौंदेखि पसिना बगाएका हुन्छौं तर अन्तिम समयमा आएर राज्यले खेलाडीलाई अभ्यास स्थलसम्म उपलब्ध नगराउँदा दुःख लागेको छ’, एथलेटिक्सकी ओलम्पियन खेलाडी सरस्वती भट्टराई भन्छिन्, ‘राज्यले खेलाडीसँग पदकको आशा मात्र गर्ने तर अभ्यासका लागि ठाउँ माग्दासमेत उपलब्ध नगराउने प्रवृत्ति गलत हो ।’ उनले यसअघि पनि ओलम्पिक खेलकुदमा राष्ट्रको प्रतिनिधित्व गरिसकेकी छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




