एस्ट्राजेनेका फार्मासियुटिकल्सका सिइओले आगामी डिसेम्बर अन्त्यसम्ममा कोरोना भाइरस खोप तयार भइसक्ने बताएका छन्।
नियमन गर्ने निकायहरूबाट अनुमति पाएपछि खोप सर्वसाधारणले प्रयोग गर्न पाउने गरी उपलब्ध हुने कम्पनीका सिइओ पास्कल सोरियटले बताएका हुन्।
‘नियमनकारी निकायहरू निरन्तर हाम्रा तथ्यांकहरू निगरानी गरिरहेका छन्। हामीले खोपका सबै काम सकिसक्दासम्म उनीहरूले पनि आफ्नो काम सके भने जनवरीदेखि हाम्रो खोप उपलब्ध हुनेछ। अझ डिसेम्बर अन्तिमदेखि नै सर्वसाधारणले खोप लाउन सक्नेछन्,’ एस्ट्राजेनेकाका सिइओ पास्कलका भनाइ उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले लेखेको छ।
एंलो-स्वीडिस कम्पनी एस्ट्राजेनेकाले बेलायतमा अक्सफोर्ड विश्वविद्यालयसँग सहकार्य गरी खोप बनाइरहेको छ। एस्ट्राजेनेकाको खोपमा संसारका धेरैले चासो राखेका पनि छन्। परीक्षणको तेस्रो चरणमा पुगिसकेको भएकाले यो खोपले कोरोना भाइरस महामारीसँग लड्न सघाउने आशा धेरैको छ ।
‘हामीले सायद यो खोपबाट कहिल्यै पैसा चाहिँ कमाउँदैनौं। किनकी यो खोप कतिपटक लगाउनुपर्छ भन्नेबारे कसैलाई थाहा छैन,’ पास्कलले भनेका छन्, ‘यदि खोप एकदमै प्रभावकारी भयो, धेरै वर्षसम्म मान्छेलाई कोरोनाबाट जोगाइराख्यो र कोरोना नै हराएर गयो भने यसको कुनै बजार हुने छैन।’
तर यो खोप पुनः लगाउन पर्ने हुनसक्ने अनुमान उनको छ, ‘यदि यो खोप वर्षमा एकपटक लगाउनु पर्ने भयो भने सायद हामीले सन् २०२२ देखि पैसा पनि कमाउनेछौं। तर सबभन्दा पहिले त यो खोपले साँच्चै नै काम गर्छ भन्ने हामी निश्चित हुनुपर्छ।’
एस्ट्राजेनेकाको खोप गत सेप्टेम्बरमै तेस्रो चरणको परीक्षणमा प्रवेश गरेको थियो। तर परीक्षणमा सहभागीमध्ये केही व्यक्तिमा असर देखिएकाले परीक्षण रोकिएको थियो।
एस्ट्राजेनेकाको खोपका लागि युरोपियन युनियन, अमेरिका, बेलायत, जापान र ब्राजिलले पहिल्यै सम्झौता गरिसकेका छन्। यो खोपको चीनमा पनि परीक्षण भइरहेको साउद चाइना मर्निङ पोस्टले लेखेको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार