भक्तपुर, २४ कात्तिक– भक्तपुरको सानोठिमीस्थित विश्वविद्यालय अनुदान आयोग चोकमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

विपरीत दिशाबाट आउँदै गरेका बा४९प १५४९ नम्बरको मोटरसाइकल र बा९०प ३९६५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा बा४९प १५४९ नम्बरको मोटरसाइकलका चालक धादिङ केवलपुर–१० घर भई हाल कुलेश्वर काठमाण्डु बस्ने ४२ वर्षीय सानुकाजी श्रेष्ठको मृत्यु भएको हो ।

महानगरीय प्रहरी वृत्त थिमीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनका अनुसार दुर्घटनामा घाइते भएका श्रेष्ठको ब्लुक्रस अस्पताल त्रिपुरेश्वरमा उपचारका क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल पछाडि सवार धादिङकै ४४ वर्षीय कमलबहादुर बास्कोटाको मध्यपुर अस्पतालमा उपचार सम्भव नभएपछि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । बा९०प ३९६५ नंको मोटरसाइकल र त्यसका चालक मथिनपा–७ नगदेश बस्ने १८ वर्षीय रोहित बाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते बाडेको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार