टोकियो/जापान। जापानको सबैभन्दा ठूलो व्यापारीक संगठन केइदानरेनले जनाएको छ कि यस वर्ष पनि संगठनसँग आबद्ध ठूला कम्पनीहरूमा कार्यरत मजदुरहरूले औसतमा ५.३८% तलब वृद्धि पाउने सहमति गरेका छन्। यो दर लगातार दोस्रो वर्ष ५% भन्दा बढी रहेको बताईएको छ।

केइदानरेनको प्रारम्भिक प्रतिवेदनअनुसार, ९७ वटा ठूला कम्पनीहरूमा कार्यरत झण्डै ६ लाख २० हजार मजदुरहरूको तलब वृद्धि हुनेछ। यद्यपि यो वृद्धि गत वर्षको ५.५८% भन्दा केही कम भए पनि, पछिल्लो २० वर्षको औसत २.३% को तुलनामा दोब्बरभन्दा बढी हो।

तलब वृद्धिको प्रमुख कारण भनेको जापानमा तीव्ररूपमा बढ्दो श्रमशक्तिको अभाव हो। जापानको बेरोजगारी दर ४ वर्षदेखि ३% भन्दा कम छ, जुन विकसित राष्ट्रहरूमा सबैभन्दा कम दरमध्ये पर्दछ। हालैको तेइकोकु डाटाबैंकको सर्वेअनुसार, ५०% भन्दा बढी कम्पनीहरूमा नियमित कामदारको कमीलगायतको समस्या छ।

१७ वटा मुख्य उद्योगमध्ये ११ उद्योगमा गत वर्षको तुलनामा तलबमा अझ धेरै वृद्धि भएको देखिएको छ।ट्रान्सपोर्टेसन, इलेक्ट्रोनिक्स, र केमिकल्स क्षेत्रमा तलब वृद्धि उच्च देखिएको छ।अटोमोबाइल र स्टिल उद्योगमा भने वृद्धि दर केही कम देखिएको छ।

आर्थिक वृद्धिमा सकारात्मक संकेत
यो तलब वृद्धिको लहरले जापानी अर्थतन्त्रको वृद्धिमा आशा जगाएको छ। तलब वृद्धिका सकारात्मक संकेतहरूले प्रधानमन्त्री शिगेरु इसिबासँगको छलफलमा पनि स्थान पायो, जहाँ न्यूनतम तलब वृद्धि र उत्पादकत्व सुधारबारे छलफल भएको थियो।

यथार्थ के हो? — मूल्य वृद्धि अझै ठूलो चुनौती
हालसालै तीन वर्षदेखि जापानको मुद्रास्फीति दर २% भन्दा माथि कायम रहेको छ। ताजा खाद्यान्न बाहेकको मूल्यवृद्धि दर ३.४% पुग्ने अपेक्षा गरिएको छ।
तर, वास्तविक आय (real wage) भने मूल्य वृद्धिको तुलनामा कम भएकोले उपभोग र खर्चमा कमी देखिएको छ।

केइदानरेनका लेबर पॉलिसी ब्युरोका निर्देशक हिदेशी निट्टा भन्छन् —“हामी उत्पादकत्वसँगै वास्तविक तलब वृद्धिको बाटोमा अघि बढ्न चाहन्छौं, तर हालको मूल्यवृद्धिले अवस्था अझै चुनौतीपूर्ण छ।”

आगामी चुनौती: अमेरिकी शुल्क

अघिल्लो वर्षदेखि अमेरिकी सरकारले जापानी कारहरूमा २५% आयात शुल्क लगाउने निर्णय गरेकोले अटोमोबाइल क्षेत्र र त्यससँग सम्बद्ध कम्पनीहरू (जसमा झण्डै ८% जापानी कर्मचारी कार्यरत छन्) मा चुनौती थपिएको छ।

तलब वृद्धि जापानको अर्थतन्त्रका लागि सुखद संकेत हो, तर मुद्रास्फीति, वास्तविक आयको स्थिरता, र अन्तर्राष्ट्रिय व्यापार जोखिम जस्ता चुनौतीहरूबीच यो लहर लामो समय टिक्न सक्नेछ वा सक्नेछैन भन्ने कुरा भने भविष्यको परिस्थितिले निर्धारण गर्नेछ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार