टोकियो/जापान। जापानको प्रमुख कनभिनियन्स स्टोर अपरेटर लसोन इंकले गाडीमै रात बिताउने यात्रुहरूलाई लक्षित गर्दै आफ्ना स्टोरको पार्किङ स्थल उपयोग गर्न सकिने सशुल्क सेवा सुरु गर्ने भएको छ। पछिल्ला दिनहरूमा होटल तथा आवास खर्च अत्यधिक बढेसँगै यो नयाँ सेवा ल्याइएको हो।

यो सेवा सुरुवाती रूपमा चिबा प्रिफेक्चरका ६ वटा स्टोरहरूमा जुलाई १४ देखि अर्को वर्षको जुनसम्म परीक्षण स्वरूप सञ्चालन गरिनेछ, र त्यसपछि यसलाई जापानभरि विस्तार गर्ने योजना रहेको छ।

२५०० देखि ३००० येनसम्मको शुल्कमा एक रात पार्किङ स्थलमा गाडी राख्न सकिनेछ। पार्किङ बेलुका ६ बजेदेखि भोलिपल्ट बिहान ९ बजेसम्म उपलब्ध हुनेछ।सेवा उपयोग गर्न चाहनेले RV-Park.jp वेबसाइटमार्फत अघिनै क्रेडिट कार्ड प्रयोग गरेर बुकिङ गर्न सक्नेछन्।

लसोनका अनुसार, पछिल्लो समय रेक्रिएसनल भेइकल (RV) र सस्तो यात्राको लोकप्रियता बढ्दै गए पनि गाडीमै बस्न मिल्ने सुरक्षित स्थानहरू अपर्याप्त छन्।यसअघि सार्वजनिक स्नानघर र सडक किनारका विश्रामस्थलमा यस्ता सेवा उपलब्ध भए पनि, लसोनले २४ घण्टा खुला सेवा, खाद्यपदार्थ र पेय खरिद तथा शौचालयको सुविधा जुनसुकै बेला प्रयोग गर्न मिल्ने सुविधा आफ्ना मुख्य विशेषता बताएको छ।

कम्पनीका एक अधिकारी भने- “हाम्रो  स्टाफ संधै उपस्थित हुने भएकाले प्रयोगकर्तालाई सुरक्षा र भरोसा पनि प्रदान गर्न सक्छौं।”


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार