टोकियो,जापान। जापानमा आगामी वर्ष जनवरीदेखि अप्रिल महिनासम्म मूल्यवृद्धि हुने खाद्यपदार्थहरूको संख्या उल्लेख्य रूपमा कमी आएको छ। गत वर्षको सोही अवधिका तुलनामा झण्डै ८० प्रतिशतले घटेको यो तथ्यांक निजी अनुसन्धान संस्थानको अध्ययनबाट सार्वजनिक भएको हो।

तेइकोकु डाटा बैंकद्वारा गरिएको अध्ययन अनुसार, नोभेम्बर महिनाको अन्त्यसम्म देशका प्रमुख १९५ खाद्य उत्पादक कम्पनीहरूले आगामी जनवरीदेखि अप्रिलसम्म १०४४ खाद्य वस्तुहरूको मूल्य वृद्धि गर्ने योजना सार्वजनिक गरेका छन्।

यो संख्या गत वर्षको सोही अवधिमा गरिएको अध्ययनमा आगामी वर्षका लागि मूल्यवृद्धि हुने वस्तुहरूको सूचीसँग तुलना गर्दा करिब ८० प्रतिशत कम रहेको छ। यसले उपभोक्तामाथि बढ्दो आर्थिक दबाब र बजार प्रतिस्पर्धाका कारण कम्पनीहरू मूल्य बढाउन सावधानीपूर्ण ढंगले अघि बढिरहेको संकेत गर्छ।

श्रेणीगत विवरणमा पेय पदार्थ र मद्यजन्य वस्तुहरू सबैभन्दा बढी प्रभावित छन्, जसको संख्या ५०९ छ। यो सूचीमा समावेश भएका वस्तुहरू कुल संख्या कै करिब आधा हिस्सा हो। त्यस्तै, फ्रोजन फुड तथा प्रोसेस्ड खाद्यपदार्थहरू ३९७ आइटम रहेका छन्, जुन सूचीको करिब ४० प्रतिशत हो।

विशेषज्ञहरूका अनुसार, उपभोक्ताको क्रयशक्ति कमजोर हुँदै गएका कारण कम्पनीहरू मूल्य समायोजनमा सतर्क देखिएका छन्। यससँगै आगामी वर्षको मूल्यवृद्धि दर अहिलेको तुलनामा धेरै कम रहने अनुमान गरिएको छ, जसले सामान्य उपभोक्तालाई केही राहत देला भन्ने आशा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार