काठमाडौं । के अमेरिकी डिजे मार्समेलो नेपाल आएर पनि बुधबार राति डेजाभुमा आयोजित कार्यक्रममा नपुगेका हुन्? कि नेपाल नै आएका थिएनन्? प्रहरीले यसलाई अनुसन्धानको विषय बनाएको छैन।
तर, पक्राउ परेका डेजाभुका सञ्चालक र मार्समेलोको कार्यक्रमका आयोजकले मार्समेलो नेपालमा आएको तर बिरामी भएर कार्यक्रममा सहभागी हुन नसकेको दाबी गरेका छन्। मार्समेलो बिहीबार फर्किएको आयोजकको दाबी छ। मार्समेलो नेपाल आएको र स्वदेश फर्किसकेकोबारे आयोजकसँग कुनै प्रमाण छैन।
मार्समेलो यस्ता ब्यक्ति हुन् जसको वास्तविक नाम र अनुहार कस्तो छ भनेर कसैलाई पनि थाहा छैन। विषेषतः उनी आफ्ना कार्यक्रमका बेला मार्समेलोको रुपमा चिनिन्छन्। तर अन्य अवस्थामा म नै मार्समेलो हुँ भनेर कुनै नाम वा अनुहार स्पष्ट भएको मान्छेले दाबी गरेको छैन।
यसकारण पनि मार्समेलो नेपालमा थिए, थिएनन् भन्नेबारे यकिनसाथ भन्न सकिन्न। मार्समेलोको त्यही स्वभावले आयोजकलाई मार्समेलो नेपाल आएका थिए भन्न सजिलो छ।
तर मार्समेलो नेपालमा थिएनन् भन्ने आधार धेरै छन्। यदि नेपालमा थिए भने त्यति ठूलो घटनापछि आयोजकले किन मार्समेलोलाई अगाडि राखेर पत्रकार सम्मेलन गर्न सकेन? डेजाभुमा बुधबार राति साढे दुई बजे आयोजकले मार्समेलो आउन नसक्ने घोषणा गरेलगत्तै त्यहाँ उपस्थित तीन हजारभन्दा बढी दर्शकले उक्त नाइट क्लबमा तोडफोड गरेका थिए। यो क्रम करिब एक घन्टा चलेको थियो। आक्रोशित दर्शकले क्लबबाहिर निस्केर बाटोमा राखिएका गाडीमा तोडफोड र आगजनी गरेका थिए। चार बजेर ५८ मिनेटमा मार्समेलोले ट्विटरमा लेखे, ‘नेपाल। हिजो राति काठमाडौंको डेजाभुमा आफ्नो प्रस्तुति दिन नसकेकोमा क्षमा चाहन्छु। मलाई धेरै ज्वरो आएको थियो। म आउन चाँहदा डाक्टरले दिएनन्। स्वास्थ्य पहिला आउँछ। म तपाईँहरुलाई माया गर्छु। बुझि दिनुभएकोमा धन्यवाद।’
डेजाभुमा बुधबार राति सात बजेदेखि १२ बजेसम्म नेपाली डिजे र त्यसपछि मार्समेलोले आफ्नो प्रस्तुति दिने कार्यक्रम थियो। तर राति दुई बजेसम्म पनि आयोजकले मार्समेलो बाटोमा आउँदैछन् भनिरहेको थियो।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी भन्छन्, ‘मार्समेलो नेपालमा थिए, थिएनन् भन्ने हाम्रो अनुसन्धानको विषय होइन। मुख्य कुरा दर्शकलाई ठगिएको छ, नाइट क्लबको क्षमताभन्दा बढी टिकट विक्री भएको छ, सुरक्षा ब्यवस्था मिलाइएको देखिँदैन।’
एसएसपी लोहनीको दाबी मान्ने हो भने कार्यक्रम आयोजनाका लागि जिल्ला प्रशासन कार्यलयबाट अनुमति लिइएको छैन। भन्छन्, ‘विश्वका यति चर्चित सेलिब्रेटीको उपस्थिति, हजारौं संख्यामा टिकट बिक्री भएको घटनामा आयोजकले सिडियो कार्यलयबाट अनुमति लिएको छैन, कसैलाई जानकारी नगराई यसरी आयोजना गर्नु अवैध हो।’
डेजाभुले कार्यक्रम गर्न आयोजकलाई ठाउँमात्र उपलब्ध गराएको हो। तर, प्रहरीले यस घटनामा मुख्य दोषी डेजाभुका लगानीकर्ता भएको ठहर गर्दै आधा दर्जनलाई पक्राउ गरेको छ। डेजाभुका सञ्चालकको दोष के हो भन्नेमा पनि प्रहरीको जवाफ स्पष्ट छैन। एसएसपी लोहनी भन्छन्, ‘नाइट क्लबको अनुमति लिएर यत्रो कार्यक्रम गर्न ठाउँ दिने? तोडफोडका क्रममा कुनै मानविय क्षति भएको थियो भने के हुन्थ्यो, त्यत्रो टिकट बिक्री हुँदा डेजाभु सञ्चालक के हेरेर बस्यो?’
महाशाखाले करिब ७ हजार टिक्रट बिक्री भएको दाबी गरेको छ। आयोजकको दाबी छ, ‘तीन हजार मात्र टिकट बिक्री भएको हो।’ टिकट कति विक्री भएको थियो अनुसन्धानबाट खुल्ने छ र बिगो रकम तय हुने छ। तर मुद्दा भने एक जना मात्र दर्शकको उजुरीका आधारमा दर्ता भएको स्रोतको दाबी छ। विगतमा केही चर्चित कार्यक्रम आयोजना गरिसकेको आयोजक र पछिल्लो समय काठमाडौंका युवामाझ लोकप्रिय डेजाभु मार्समेलोको कारण नराम्रोसँग फसेका छन्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




