दुई चर्चित मधेशी नेताहरुको मिलनको अवसर एमाले–माओवादी केन्द्रसहितको वामगठबन्धनले जुराइदिने भएको छ। १० वर्षदेखि विछोडमा रहेका उनीहरु अब प्रतिनिधि सभामा सँगै रहनेछन्।
उनीहरु हुन्, रामेश्वर राय यादव र ह्दयेश त्रिपाठी।
पूर्वी मधेशको सर्लाही र पश्चिम मधेशको नवलपरासीका यी दुई नेताको मिलन र विछोडको कथा निकै रोचक छ।
पञ्चायतकालमा गठन भएको सद्भावना परिषद्लाई स्वर्गीय गजेन्द्रनारायण सिंहले बहुदलको पुनस्र्थापनापछि जब नेपाल सद्भावना पार्टीको रुपमा परिणत गरे, यादव र त्रिपाठी दुबै त्यसमा समाहित भए।
दुबैले २०४८ को निर्वाचनमा प्रतिस्पर्धा गरे। तर यादव सर्लाही–५ बाट पराजित भए, त्रिपाठीले भने नवलपरासी–३ बाट विजय हासिल गरे।
२०५१ मा पनि त्रिपाठी नवलपरासीको सोही क्षेत्रबाट निर्वाचित भए, यादवले पनि प्रतिस्पर्धा नै गरेनन्। तर, त्रिपाठीकै जोडवलमा यादव राष्ट्रिय सभा सदस्य बने।
त्रिपाठी प्रतिनिधि सभा र यादव राष्ट्रिय सभामा निर्वाचित भएपछि यी दुबैको जोडी खुब जम्यो।
२०५२–०५४ बीचको ‘हङ्ग पार्लियामेन्ट’ अवधिमा त्रिपाठीकै जोडबलमा यादव पार्टीको तर्फबाट मन्त्री समेत बनाइए।
पूर्वी मधेश र पश्चिम मधेशका यी दुई नेताको जोडी यति जम्यो कि, दुबैजना मिलेर पार्टी अध्यक्ष गजेन्द्रनारायण सिंहलाई चुनौति दिँदै ‘राष्ट्रिय जनता दल’ नामको छुट्टै पार्टी बनाए।
तर, उनीहरुले लामो समय पार्टीलाई निरन्तरता दिन सकेनन्। २०५६ को निर्वाचनसम्म पुग्दा उनीहरुले जनता दललाई नेपाल सद्भावना पार्टीमा विलय गराइसकेका थिए।
२०५६ को निर्वाचनमा ह्दयेश फेरि नवलपरासी–१ बाट निर्वाचित भए। तर, सर्लाही–४ मा प्रतिस्पर्धा गरेका रामेश्वर फेरिपनि पराजित भए।
गजेन्द्रनारायण सिंहको निधनपछि पार्टीभित्र नेतृत्वका लागि अन्तर्संघर्ष देखिन थाल्यो। पार्टीमा विस्तारै राजेन्द्र महतोको प्रभाव बढ्न थाल्यो।
‘राजेन्द्र महतो कि ह्दयेश त्रिपाठी?’ भन्ने त्यो लडाईंमा यादवले त्रिपाठीलाई साथ दिए, जवकि यादव र महतो दुबै सर्लाहीका थिए।
महतोको प्रभाव बढ्दै जाँदा दुबै सद्भावना पार्टी छाड्ने निष्कर्षमा पुगिसकेको थिए।
मधेश आन्दोलनले सद्भावनालाई कमजोर बनायो, मधेशमा बैकल्पिक पार्टीका रुपमा मधेशी जनअधिकार फोरम र तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) बने।
मधेश आन्दोलनले सद्भावनालाई पाखा लगाउँदै फोरम र तमलोपालाई विकल्पका रुपमा अघि ल्याएपछि यी मित्र फरक फरक पार्टीमा लागे।
यादवले फोरम रोजे भने त्रिपाठीले तमलोपा। २०६४ को निर्वाचनमा त्रिपाठीले विजय हासिल गरे। तर यादवले यसपटकपनि जित्न सकेनन्।
२०७० को संविधान सभामा भने दुबै नेता आआफ्नो गृहजिल्लामा पराजित भए।
उनीहरुको रोजाईमा सँधै मधेशवादी पार्टी नै रह्यो। त्रिपाठी त तमलोपामा नै थिए, तर यादव चाहिँ पछिल्लो समय विजय गच्छेदार नेतृत्वको फोरम (लोकतान्त्रिक) मा पुगेका थिए।
६ मधेशवादी पार्टी मिलेर राजपा गठन गरिएपछि त्रिपाठीको असन्तुष्टि अरु बढ्यो।
आफू भन्दा जुनियरहरुलाई राजपा अध्यक्ष मण्डलको सदस्य बनाइनु, तर आफूलाई त्यस बाहिर राखिनुलाई उनले आफ्नो अपमानको रुपमा सम्झे।
असन्तुष्टिकै बीच उनले छुट्टै समूह गठन गरी एमालेको चिन्ह सूर्यबाट चुनाव लड्ने निर्णय गरे।
उता, गच्छदारले पार्टीलाई कांग्रेसमा बिलय गराउने बुझेपछि बरिष्ठ उपाध्यक्ष यादवले पनि फोरम (लोकतान्त्रिक) बाट राजिनामा दिए। र, १५ भदौमा माओवादी केन्द्रमा प्रवेश गरे।
स्वतन्त्र हैसियतमा एमालेबाट उम्मेदवारी पाएका त्रिपाठीले नवलपरासी-१ (बर्दघाट सूस्तापूर्व)बाट ३८ हजार ५ सय ९२ मत गरी आइतबार नै विजय हासिल गरेका छन्।
त्यसको भोलिपल्ट नै यादवले सर्लाही–३ बाट २२ हजार ४४ मत प्राप्त गरेर जीवनमै पहिलो पटक जीत निकालेका छन्।
अर्थात्, वामगठबन्धनबाट उम्मेदवार बनेका यी दुई हितैषी फेरि एकै ठाउँमा आइपुगेका छन्।
केही दिनपछि अब संसदको बैठक सुरु हुनेछ, दुबै अब सत्तापक्षीय बेञ्चमा देखिनेछन्।
एमाले–माओवादी केन्द्रबीच छिट्टै पार्टी एकतापनि हुँदैछ। यदि त्रिपाठी छुट्टै दल गठनको निर्णयमा पुगेनन् र एमाले–माओवादी केन्द्रको एकतामा सामेल भए भने लामो समयपछि यी ‘दुई दोस्त’ फेरि एउटै पार्टीमा हुनेछन्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




