काठमाडौं । सर्वोच्च अदालतले डा. गोविन्द केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।
सर्वोच्चको आदेशपछि प्रहरी हिरासतमा रहेका केसी मुक्त भएका छन् । उनी त्रिवि शिक्षण अस्पताल पुगेर सत्याग्रहमै बसेका छन् । उनले आफ्नो सत्याग्रहका बारेमा बिहीबार छलफल गरेर निर्णय गर्ने बताए ।

अदालतको अवहेलनासम्बन्धी मुद्दामा उनलाई हिरासतमा लिइएको थियो । सर्वोच्च अदालतले बुधबार उनलाई साधारण तारेखमा रिहा हुने आदेश जारी गरेको थियो ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको इजलाशले केसीलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो ।

“यसमा विपक्षीले प्रस्तुत गरेको प्रेस विज्ञप्तिमा विभिन्न कुराहरु लेख्नु भएतापनि अदालतमा बयान गर्दा न्याय सम्पादन गर्ने न्यायाधीशहरुलाई म सम्मान गर्दछु, अदालतलाई घृणा हुने अभिव्यक्ति मैले दिएको छैन, स्वच्छ आलोचना मात्र गरी अदालत लगायत समाजलाई घच्घच्याएको हुँ, भनी बयान गर्नु भएको देखिन्छ ।

साथै विपक्षीको स्वास्थ्य अवस्थासमेतलाई विचार गर्दा प्रस्तुत मुद्दामा पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई विपक्षी डा. गोविन्द केसीलाई मुलुकी ऐन बमोजिम तारेखमा राखी निजको तर्फबाट बहसमा उपस्थित विद्धान वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीको जिम्मामा छोडी बाँकी कारवाही गर्नु,” फैसलामा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार