पातारासी गाउँपालिका–४ का धनबहादुर बुढालाई शनिबार दिउँसो उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटैमा मृत्यु भयो । दमको व्यथाले च्यापेपछि घरबाट साढे दुई घन्टा बोकेर ल्याएपछि उर्थुचौतारामा एम्बुलेन्सको प्रतीक्षा गर्दागर्दै ४२ वर्षीय धनको निधन भएको हो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

यसअघि पनि पातारासीकै विभिन्न बस्तीबाट उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा धेरै बिरामीको अकालमा ज्यान गएको छ। अकस्मात् चोटपटक लाग्दा होस् वा प्रसूति व्यथा लाग्दा, बिरामी अस्पतालसम्म पुग्नै भ्याउँदैनन् ।

‘घरसम्म एम्बुलेन्स पुगेको भए बाबाले ज्यान गुमाउनुपर्ने थिएन’, मृतकका छोरा लालु बुढाले भने, ‘गाउँपालिकाको एम्बुलेन्स खोज्दा भेटिएन । प्रतिष्ठानको एम्बुलेन्स बोलाउन र पुग्न ढिलाइ हुँदा बाबाको मृत्यु भयो। सामान्य अक्सिजन नपाएरै बुबाले ज्यान गुमाउनुपरेको उनले गुनासो गरे ।

उनका अनुसार बुबाको मृत्युपछि बल्लतल्ल पुगेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एम्बुलेन्सले आतेजाते १२ सय भाडा पनि असुल्यो ।

पातारासी गाउँपालिकाका धेरैजसो आपतकालीन बिरामीलाई घरायसी तथा प्राथमिक उपचारपछि स्टे«चरमा बोकेर थप उपचार गर्न प्रतिष्ठान लैजाँदै गर्दा ढिलो भएका कारण बाटोमै ज्यान गुमाउनुपरेको स्थानीय महिला स्वास्थ्य स्वयंसेविका मैया महताराले बताइन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार