काठमाडौं, २९ फागुन । मुलुकको तेस्रो राष्ट्रपतिको रुपमा विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् ।
भण्डारी ११ कात्तिक २०७२ मा नेपालको दोस्रो राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । भोजपुर मानेभञ्याङमा जन्मिएकी भण्डारी राष्ट्रपति हुनु अघि एमाले उपाध्यक्ष थिइन् ।

उनको नयाँ कार्यकाल पाँच वर्षको हुनेछ । राष्ट्रपति चयनका लागि मंगलबार निर्वाचन भएको थियो । वर्तमान राष्ट्रपति भण्डारीसँगै कांग्रेसकी कुमारी लक्ष्मी राई चुनावी मैदानमा थिइन् ।

निर्वाचन मण्डलमा संघीय संसदसँगै प्रदेशसभा सांसदहरु पनि मतदाता थिए । संघीय सांदको मतभार ७९ र प्रदेशसभा सांसदको मतभार ४८ तोकिएको थियो ।

वाम गठबन्धनकी उम्मेदवार भण्डारी दुई तिहाई बढी मतका साथ राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । भण्डारीले ३९ हजार २७५ मत पाइन् । उनलाई २४५ संघीय सासद र ४१५ प्रदेशसभा सदस्यले मत दिएका थिए । कांग्रेस उम्मेदवार राईले भने ११७३० मत पाएकी छन् । उनलाई ७८ संघीय सांसद र ११६ प्रदेशसभा सदस्यले मत दिएका छन् ।

८ सांसदको मत बदर

निर्वाचनमा संघीय संसदका ३३१ र प्रदेशसभाका ५३६ सदस्य मतदाता गरेका छन् । तर, तीन संघीय सांसद र ५ प्रदेशसभा सदस्यको मत भने दबर भएको छ ।

संघीय संसदका ५ र प्रदेशसभाका १४ सदस्यले पनि मतदान गरेनन्, जसमध्ये नयाँ शक्ति, नेमकिपा र विवेकशील साझा पार्टीले मतदान नगर्ने निर्णय गरेका थिए ।

राष्ट्रियसभामा मनोनित तीन सांसद मतदाता नै थिएनन् भने जेल सजाय पाएपछि फरार रहेका प्रदेशसभा सांसद दिपक मनाङ्गे मतदाता नै हुन पाएनन् ।

न्वनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पद तथा गोपनीयताको सपथ लिनेछिन् । सपथको समय बुधबार दिउँसो ४ बजेका लागि तोकिएको छ । राष्ट्रपतिलाई प्रधानन्यायाधीशले सपथ गराउने प्रचलन छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार