काठमाडौं, ८ चैत । दक्षिण कोरियामा रोजगारीका लागि जान चाहनेका लागि बिहीबारबाट रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको आवेदन खुलेको छ ।

भाषा परीक्षाको आवेदन अनलाइनमार्फत् भर्ने व्यवस्था गरिएको छ । तर बैंकमा पैसा जम्मा गर्ने आवेदनकर्ताको भने लामो लाइन लागेको छ । आवेदन गर्दा लाइन बस्ने झन्झट गत वर्षबाटै हटाइएको थियो । तर, बैंकमा शुल्क तिर्न भने लाइन बस्नुपर्ने बाध्यता कायमै रहेको हो ।

आवेदन भर्दा २४ डलर शुल्क तोकिएको छ । यो शुल्क ग्लोबल आईएमई बैंकको जुनसुकै शाखाबाट जम्मा गराउन सकिन्छ । त्यसैले ग्लोबल आईएमई बैंकका शाखाहरुमा बैंक खुल्नुभन्दा अघिदेखि नै लामो लाइन लागेको छ ।

वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाका अनुसार फारम भर्ने म्याद चैत १७ गतेसम्म छ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको नेपाली नागरिकले भाषा परीक्षाको आवेदन दिन सक्नेछन् ।

भाषा परीक्षा जेठ २६ र २७ गते हुनेछ । यसपटक कुल ७ हजार एकसय जना उत्तीर्ण हुनेछ । उत्पादनमुलक क्षेत्रमा चार हजार ८ सय र कृषि क्षेत्रमा दुई हजार ३०० कोटा निर्धारण गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार