काठमाडौं, २ बैशाख  । नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतामा अन्योलता बढ्दै गएको छ ।
नेकपा एमाले र माओवादी केन्द्रले बनाएका दुईवटा कार्यदलले आ आफ्नो प्रतिवेदन केही विवादित विषयसहित शीर्ष नेतालाई बुझाइसकेपछि एकता प्रक्रिया भने तीव्र गतिमा अघि बढ्न सकेको छैन ।

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आ आफ्नै कार्यक्रममा व्यस्त छन् ।
त्यसैले वैशाख ९ गते गर्ने भनिएको एकता घोषणा अन्योलमा परेको छ । वैशाख २२ गतेलाई एकता घोषणाको वैकिल्पक दिनका रुपमा हेरिन थालिएको छ । यसअघि वैशाख ९ गते कम्युनिष्ट दल गठन भएको तिथिलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोषणा गर्ने तयारी दुवै दलले गरेका थिए ।

कार्यदलको बैठकमा एमाले नेता तथा कार्यदलका सदस्य वेदुराम भुषालले सो मिति प्रस्ताव गरेका थिए । कम्युनिष्ट दल स्थापना भएको मिति नै उपयुक्त भएको नेताहरुको बुझाई थियो । ‘पहिले वैशाख ९ निकै टाढा भयो भन्ने लागेको थियो, अब निकै नजिक लाग्न थालेको छ,’कार्यदलका सदस्य भुषालले भने, “एकता संयोजन समितिको बैठक चाँडो बस्न नसक्ने हो भने वैशाख ९ मा गर्ने भनिएको पार्टी एकताको घोषणा अन्योलमा पर्छ ।”

वैशाख ९ गते नजिकिँदैछ । तर पार्टी एकता संयोजन समितिको बैठक बस्न सकेको छैन । विवादित तीनवटा विषय सल्टाउन समय लाग्नेभन्दै सम्भवतः ९ गते पार्टी एकता घोषणा असम्भव देखिएको नेता भुषालले बताए । उनकाअनुसार नयाँ पार्टीको चुनाव चिन्ह, माओवादीले प्रस्ताव गरेको जनयुद्ध शब्द र पार्टी एकीकरण गर्दा प्रतिनिधित्वको संख्या प्रतिशत या समानताका आधारमा प्रमुख विवाद छ ।
माओवादीले प्रतिशतका आधारमा ५०–५० हुनुपर्ने अडान कायमै राखेको छ ।

“एमाले र माओवादी पार्टीको एउटै हैसियत होइन, पचास प्रतिशतको सहभागिता खोज्नु भनेको पार्टी एकतामा निहुँ खोज्नु हो,” एमालेका एक नेताको प्रतिक्रिया छ । पचास प्रतिशतका विषयमा कार्यदलको कुनै बैठकमा छलफल नभएको भुषालले जानकारी दिए ।

कार्यदलका सदस्य भुषालकाअनुसार वैशाख २२ अर्थात (मे ५) कार्ल माक्सको २०० औं जन्मतिथी परेकाले पार्टी एकता घोषणाको विकल्प हुनसक्छ । “कथंकदाचित वैशाख ९ मा पार्टी एकता घोषणा हुन सकेन भने उचित विकल्प वैशाख २२ हुन सक्छ,” भुषालले भने । तर सो विषयमा अझै छलफल हुन बाँकी रहेको उनले बताए ।

दुई अध्यक्षले चाहेमा वैशाख ९ मै पार्टी एकता घोषणा अझै सम्भव रहेको बताउँदै उनले तर दुई अध्यक्षको व्यस्तता र समयअभावले पार्टी एकता संयोजन समितिको बैठक बस्न नसकिरहेको बताए । यद्यपि थापा संयोजकत्वको कार्यदलले नयाँ पार्टीको चुनाव चिन्ह, जनयुद्ध र कमिटीमा रहने सदस्य संख्याको प्रतिशतबारेमा टुंगो नलगाएरै प्रतिवेदन बुझायो । सो विवादित विषय अब एकता संयोजन समितिले टुंगो लगाउनुपर्नेछ ।

चुनाव चिन्हकालागि एमालेले सूर्य चिन्ह नै हुनुपर्ने अडान राखेको छ । माओवादी केन्द्रले सूर्यको बीचमा हँसिया हथौडा अंकित हुनुपर्ने प्रस्ताव राखेको छ । त्यसमा अन्तिम निर्णय हुन बाँकी छ । एमालेले जनयुद्ध शब्द विधानको प्रस्तावनामा राख्न तयार भएको छैन । यद्यपि दुवै दललाई स्वीकार्य हुनेगरी बीचको बाटोबाट जान सकिने बुझाई कार्यदलका सदस्यहरुको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार