काठमाडौं, ३२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको पानीजहाज सञ्चालन गर्ने घोषणालाई डुंगासँग तुलना गरेर मजाक उडाउने काम भइरहेका वेला सरकारले पानीजहाज सञ्चालनका लागि आवश्यक काम अगाडि बढाएको छ ।

सरकारले पानीजहाज सञ्चालन गर्ने प्रधानमन्त्री ओलीको घोषणा कार्यान्वयका लागि प्राविधिक पक्षमाथि छलफल सुरु गरेको आजको कारोबार दैनिकमा खवर छापिएको छ । ‘जल तथा उर्जा आयोगले भारतको पानीजहाज प्राधिकरणका पदाधिकारीलाई काठमाडौं झिकाएर पानीजहाज सञ्चालनको विषयमा छलफल गरेको आयोगले जनाएको छ । आइतबारदेखि सुरु भएको छलफलमा नेपाल र भारत दुवै पक्षले आआफ्नो प्रस्तुति राखेका छन् ।’

यही विषयलाई नयाँ पत्रिका दैनिकमा कृष्ण रिजालले ‘नेपालसम्मकै जलमार्ग भारतले बनाइदिने’ शीर्षकमा भारतले आफ्नै लगानीमा स्थलगत जलमार्ग नेपालसम्म जोडिने भएको लेखेका छन् । ‘नेपाल–भारत स्थलगत जलमार्ग निर्माणको विाष्यमा छलफल गर्न आएको भारतीय टोलीले नेपालसम्म नै जलमार्ग निर्माण गर्ने योजनाबारे नेपाली पक्षलाई जानकारी गराएको हो ।’

भारतको स्थलगत जलमार्ग प्राधिकरणका उपाध्यक्ष प्रविर पाण्डेको नेतृत्वमा आएको भारतीय टोलीले बिहारको पटनासम्म निर्माण सम्पन्न भइसकेको जलमार्गलाई नेपालसम्म जोड्ने आफूहरुको योजना रहेको जल तथा उर्जा आयोगका सहसचिव तथा इनल्यान्ड नाटर वे अध्ययन समितिका संयोजक माधव बेल्वासेले बताए ।

‘भारतीय टोलीले पटनादेखि नेपालको गण्डक ब्यारेज क्षेत्रसम्म नै जलमार्गको विकास गर्ने योजना रहेको जनाएको छ’, उनको भनाइलाई उदृत गर्दै भनिएको छ, ‘पटनासम्म जलमार्ग विकास सकिएको छ जुन छिटै सञ्चालनमा आउनेछन्, त्यहाँबाट नेपालसम्मै विकास गर्ने योजना रहेको उनीहरुले सुनाए ।’


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार