काठमाडौं, २२ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीको रुपमा सिंहदरवारबाट विदा भएका छन् । तर विदाइ हुँदै गर्दा उनले स्वागतका लागि पनि तयार रहन कर्मचारीहरुलाई आग्रह गरे ।
कर्मचारीको सहयोगमा आफ्नो कार्यकाल सफल भएको प्रधानमन्त्री प्रचण्डले बताए । संविधान कार्यान्वयन, स्थानीय तहको निर्वाचन, लोडसेडिङ र बन्द हड्ताल अन्त्य, आर्थिक वृद्धिदर आफ्नो सरकारको उल्लेखनीय काम भएको बताए । ‘राजनीतिक तरलताले मुलुकमा समस्या रहेका बेला सरकार परिवर्तन किन भयो होला, प्रचण्डको नेतृत्वको सरकार किन बनाउनु परेको होला भन्ने चासो व्याप्त थियो । तपाईं कर्मचारीहरुमा पनि थियो,’ प्रचण्डले भने, ‘म यहाँ आउँदा गोल हान्छ कि हान्दैन जस्तो तपाईंहरुलाई लागेको थियो होला तर, घुमाएर गोल हानियो । त्यसको उचित जवाफ हामीले दिन सक्यौं ।’
कांग्रेससँग आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी गरेका प्रचण्डले शेरबहादुर देउवापछि पनि आफैं प्रधानमन्त्रीको रुपमा सिंहदरबार भित्रिने संकेत गरे । उनले हाँस्दै भने, ‘तपाईंहरुले आज विदाई गर्दै हुनुहुन्छ । विदामात्रै गर्ने होइन, अब स्वागतको पनि तयारी गर्नुहोला ।’


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार