काठमाडौं । प्रदेश, प्रतिनिधिसभा सदस्यसहित पालिकामा रिक्त ९ सय बढी पद मध्ये ४६ पदका लागि मात्रै उपनिर्वाचन हुने भएको छ ।
अब स्थानीय तहको उपनिर्वाचन हुँदा वडाध्यक्ष पदसम्म मात्रै उपनिर्वाचन हुने भएकाले थोरै पदमा उपनिर्वाचन हुन लागेको हो । प्रदेशसभा सदस्य, प्रतिनिधि सभा सदस्य, नगरपालिका प्रमुख÷उपप्रमुख र गाउँपालिकाका अध्यक्षरउपाध्यक्ष र वडाअध्यक्षको मात्रै उपनिर्वाचन हुने कानुनी व्यवस्था छ । उपनिर्वाचन कहिले हुने भने टुङ्गो लागिसकेको छैन ।

स्थानीय तहमा वडा सदस्य, महिला सदस्य, दलित सदस्य, कार्यपालिका सदस्य र जिल्ला समिति सदस्य गरी नौ सयभन्दा बढी पद रिक्त भए पनि ती पदमा उपनिर्वाचन नहुने भएको हो । निर्वाचन आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलले सरकारबाट उपनिर्वाचनको मिति घोषणा भएमा उपनिर्वाचन गराउन आयोग तयार रहेको बताए ।

नवनियुक्त प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारबाट उपनिर्वाचनको मिति घोषणा भएमा त्यसका लागि आवश्यक सबै तयारी गर्न कर्मचारीहरुलाई निर्देशन दिइसक्नु भएको जानकारी पनि आयोगले दिएको छ । आयोगका अनुसार, गण्डीकी प्रदेशको कास्कीको क्षेत्र नम्बर २ बाट निर्वा्चित रवीन्द्र अधिकारको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि त्यो पद खाली छ । अधिकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुनुहुन्थ्यो ।

यसैगरी, प्रदेशसभा सदस्यत्रय हरिशरण लामिछाने, टेकबहादुर घर्ती, उत्तरकुमार ओलीको निधनपछि प्रदेशसभामा तीन पद रिक्त छन् । प्रदेश ३ का भक्तपुरका लामिछाने, गण्डकी प्रदेशअन्तर्गत बागलुङ जिल्लाका टेकबहादुर घर्ती र प्रदेश ५ को दाङका उत्तरकुमार ओलीको मृत्यु भएपछि रिक्त स्थानमा उपनिर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । उहाँहरू तीनैजना प्रत्यक्ष निर्वा्चित प्रदेशसभा सदस्य हुुनुुहुन्थ्यो ।

स्थानीय तहतर्फ सुनसरीको धरान उपमहानगरका प्रमुख तारा सुब्बा, पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष अमरकुमार नेम्बाङ, सङ्खुवासभाको मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटुवाल र महोत्तरी जिल्लाको पिपरा गाउँपालिका अध्यक्ष विनोद चौधरीको पनि निधन भएका कारण उपनिर्वाचन हुन लागेको हो ।

यसैगरी, ७७ जिल्लामा गरी ३८ वडा अध्यक्षको पद रिक्त छन् । कार्यकारी प्रमुख नहुँदा त्यहाँका बासिन्दाले सरकारी सेवा सहज तरिकाले पाउन सकेका छैनन् । निर्वाचन हुने पदमध्ये ३६ जनाको त निधन भएका कारण पद रिक्त छ । संखुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बमबहादुर घले वैदेशिक रोजगारमा गएका कारण र रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष धर्मराज यादव निलम्बनमा परेका कारण वडा अध्यक्ष पद खाली छ ।

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष संजयकुमार मण्डलले वडा अध्यक्ष पदबाट राजीनामा दिएपछि सो पद खाली छ ।
त्यसैगरी, स्थानीय तहमा निर्वाचनमा कतिपय पदमा उम्मेदवारी नै नपरेका, निर्वा्चित भएर पनि निधन भएका र अन्य विविध कारणले रिक्त भएका विभिन्न स्थानमा गरी स्थानीय तहमा कम्तीमा ९४४ पद रिक्त भए पनि वडा अध्यक्षभन्दा माथिल्लो पदमा मात्रै उपनिर्वाचन हुने छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार